१६ चैत्र, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक स्थायी समितिको बैठक बस्दै छ ।
राजावादीहरुको हिंसात्मक आन्दोलन र पछिल्लो उत्पन्न परिस्थितिवारे छलफल गरी पार्टीको रणनीति तयार गर्न आकस्मिक स्थायी समितिको बैठक बस्न लागेको हो ।
बैठक बिहान ८ बजे पार्टी सम्पर्क कार्यालय हात्तीवनमा बस्ने नेकपाका स्थायी समिति सदस्य अनिल सीले जानकारी दिनु भयो ।
बैठकमा राजावादीहरूको अराजकताले देश जटिल मोडमा गएकोवारे छलफल हुने र यसमा पार्टीको रणनीतिका विषयमा छलफल हुने बताईएको छ ।
बैठकमा समाजवादी मोर्चाको शान्तिपूर्ण विशाल जनसभाबाट आत्तालिएका राजावादीहरुको हिंसात्मक गतिविधि नियन्त्रणमा समेत छलफल हुनेछ ।
शुक्रबार राजावादीको अराजक आन्दोलनका कारण एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । यस्तै हिंसात्मक आन्दोलनमा सुरक्षाकर्मी ७५ जना र प्रदर्शनकारी ३५ जना गरी ११० जना घाईते भएका छन । दर्जनौ गाडी, निजीघर,पसल,पार्टी कार्यालय,सञ्चारगृहहरु तोडफोड भएका छन ।
प्रहरीले प्रदर्शनको आयोजना गर्ने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्सेर राणा सहित ५१ जनालाई पक्राउ गरेको छ ।
अराजक गतिविधि गर्ने दुर्गा प्रसाईं भूमिगत भएका छन् भने राजावादी आन्दोलनका नेता नवराज सुवेदीलाई प्रतिकूल स्वास्थ्य अवस्थाका कारण घरमै नजरबन्दमा राखिएको छ ।