शौचालय र खेलमैदान नहुदा मंगलादेवीका शिक्षक विद्यार्थी समस्यामा, सरकारको सौतेनी व्यवहार

१९ चैत्र, कालिकोट । जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर ८ बाँखरकोट गाँउमा रहेको श्री मंगलादेवी आधारभूत विद्यालयमा शौचालय र खेलमैदान नभएको करिव ४ बर्ष हुदैछ ।

विद्यालयमा शौचालय नहुदा शिक्षक विद्यार्थीहरु खुल्ला शौच गर्न बाध्य छन । विद्यालयको खेलमैदान समेत ३ बर्षअघि पहिरोले भत्काउदा शिक्षक विद्यार्थीहरु खेल खेल्नबाट बञ्चित छन ।

विद्यालयमा विहानको पिटी खेल्ने र खेल खेल्ने काम चार बर्षदेखि बन्द छ । ‘गाउँ– गाउँमा सिंहदरवार’ पुगेको भनेर नथाक्ने स्थानीय सरकारले भने ४ बर्षसम्म विद्यालयमा सामान्य शौचालय र खेलमैदानसम्म बनाउने बजेट उपलब्ध नगराउदा विद्यालयका शिक्षक विद्यार्थीहरु मर्कामा परेका हुन ।

पहिराेले भत्कीएकाे खेलमैदान

विद्यालयमा पढाउदा –पढाउदै दिशा पिसाव लाग्दा विद्यालय नजिकैका निजीघरका शौचालयहरु शिक्षकहरुले आपतकालमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।

तर विद्यार्थीहरु भने दिशा पिसाव लाग्दा विद्यालयको वरिपरि नै खुल्ला शौच गर्न बाध्य छन ।

विद्यालयको नयाँ भवन बनाउन भन्दै आर्थिक बर्ष २०७८/०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रमको २५ लाख र ११ लाख जनश्रमदान गरी ५६ लाखमा ४ कोठे पक्की भवन बनाउने योजना सुरु भयो । जसले गर्दा विद्यालयको पुरानो शौचालय पूर्ण रुपमा भत्काउदा र अहिलेसम्म नयाँ बन्न नसक्दा समस्या भएको हो । अहिले विद्यालय शौचालय विहिन छ ।

‘विद्यालयको नयाँ भवनसमेत पुरा बनेको छैन, अधुरो छ, शौचालय त अझै कसरी बनाउन पुग्थ्यो ?’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलिमाने कामीले प्रश्न गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कामीले शौचालय नहुदा विद्यार्थी र शिक्षकले सास्ती खेप्नु परेको स्वीकार गर्दै समस्या समाधानका लागि नगर प्रमुख उप–प्रमुखलाई वारम्वार कुरा राख्दा पनि सुनुवाई नभएको गुनासो गर्नु भयो ।

विद्यालयको खेलमैदान त पहिले देखिको समस्या थियो । २०७८ सालमा नगरपालिको ३० लाख र युनिसेफको ५ लाख आर्थिक सहयोग गरी ३५ लाखमा खेलमैदान बनाईएको थियो । तर गुणस्तरहिन पर्खाल बनाईएका कारण ०७९ को दसैं पछि आएको बाढी पहिरोले सबै भत्काएर लियो । जसले गर्दा विद्यालयमा खेलमैदानको समस्या भएको पनि ३ बर्ष पुग्यो ।

बाढी पहिराेले भत्काएकाे विद्यालय फिल्ड र बाटाे

विद्यालयका प्रधानाध्यापक बुद्धि न्यौपानेले नयाँ भवन बनाउदा भत्काएको शौचालय अझै नबनेका कारण शिक्षक विद्यार्थीलाई शौच गर्न समस्या हुने गरेको पीडा पोख्नु भयो ।

उहाँले भन्नु भयो, ‘शौचालय नहुदा साना बालबालिका त भवनकै पछाडि, फिल्डको कुना तिर बाटोको तलमाथि दिशा पिसाव गर्ने गरेका हुन्छन । तर ठुला बालबालिका भने कोही खेत तिर, कोही खोला तिर जाने गरेका छन । कोही नजिकैको निजी घरको शौचालयमा जाने गरेका छन, शिक्षक पनि नजिकका निजी घरको शौचालयमा जाने गरेका छौ ।’

‘म विद्यालयमा प्रअ भएर आएको दुई वर्ष हुदैछ, धेरै पटक शिक्षा शाखा र मेयर उप –मेयरसँग शौचालय र खेलमैदानको कुरा राखे’ प्रअ न्यौपानेले भन्नु भयो, ‘तर हुन्छ मात्र भन्छन, बजेट आउने वित्तिकै पहिलो प्राथमिकता तपाईको विद्यालयलाई दिन्छौं भन्छन । अहिलेसम्म काम भएको छैन । अस्ति भर्खर पनि प्रदेश सरकारसँग माग गरेका छौ, कसैको ध्यान गएको छैन ।’

प्रअ न्यौपानेले विद्यालयको शौचालय र खेलमैदान जसरी पनि बनाईदिन सम्वधित पक्षको ध्यानाकर्षण गराउनु भयो ।

मैदान नहुदा खेल्न नपाएका विद्यार्थी

विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र रमेश बिकले शौचालय नहुदा पढाईमा समेत डिस्टप हुने गरेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नुभयो, ‘पढाई भइरहेको हुन्छ, दिशा पिसाव लाग्दा पढाई छोडेर टाढा जानु पर्छ, फर्किदासम्म कलास छुटिहाल्छ, यस्तो समस्या धेरैदिन भोग्नु परेको छ, कसरी पढने होला ? हाम्रो शौचालय नगरसरकारले बनाईदिनु पर्यो ।’

उहाँले शौचालय नहुदा विद्यालय हाता भित्रै साना वालवालिकाहरुले खुल्ला दिशा पिसाव गर्दा दुर्गन्ध फैलिने गरेको पनि बताउनु भयो ।

विद्यालयका अभिभावक नैनानद बरालले विद्यालय जस्तो क्षेत्रमा यतिका वर्षसम्म शौचालय र खेलमैदान नबनाउनु नगर सरकारको विद्यालयप्रति हेर्ने दुष्टिकोणमा सौतेनी व्यवहार भएको टिप्पणी गर्नु भयो ।

विद्यालयकाे फिल्ड पहिरीदा स्थानीयकाे खेत समेत पुरेकाे

अभिभावक तथा स्थानीयवासी हसिंह टमट्टाले ७० प्रतिशत बढी दलित वालवालिका पढने विद्यालयमा नगरप्रमुखले पूर्वाग्रही भएर हेरेको ठोकुवा गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘शिक्षक नियुक्ति देखि नगरप्रमुखबाट हस्तक्षेप हुन्छ, उहाँका नातेदार खगेन्द्र शाही राख्न खोजेका बेला अभिभावकले ल्याउनु हुदैन भनेकै कारण विद्यालयप्रति पूर्वाग्रह पाल्नु भएको छ, नत्र एउटा शौचालय र खेलमैदान बनाउन नसकिने अवस्था किन आयो ?’

अभिभावक टमट्टाले जवर्जस्त धुर्व सुवेदीलाई शिक्षक राखेको बेला पनि ५ कक्षाबाट कोटा काटेर ३ कक्षासम्म मात्र विद्यालय बनाईदिन्छौ भनेर नै नगरप्रमुख धर्मराज शाहीले धम्की दिएको खुलासा गर्नु भयो ।

नगरपालिकाको पूर्वाग्रहका कारण विद्यालयप्रति विभेद हुने गरेको कतै छिपेको छैन । अभिभावकहरुले पनि नगरसरकारप्रति तिव्र असन्तुष्टि व्यक्त गरेका छन ।

‘अहिले चार कोठे भवन बनेको छ । त्यसैमा एउटा अफिस कोठा बनाएका छौं । विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । एउटा बालशिक्षा गरी ६ वटा कक्षा कोठा आवश्यक पर्छ । तर अहिले विद्यार्थीका लागि ३ वटा कक्षा कोठा मात्रै उपलव्ध छन । विद्यार्थीहरुलाई तल्लो र माथिल्लो कक्षाका संगै राखेर पढाउने गरिएको छ’ प्रअ न्यौपानेले भन्नु भयो ।

प्रअ न्यौपानेले भन्नु भयो, ‘माथिल्लो तलाको लागि आर्थिक २०८९/०८० मा तीस लाख बजेट आएको थियो । चार कोठाको लागि ढलान र यता उताकाे भित्ता मात्रै बन्यो । कक्षा कोठा बनाएको छैन । झ्याल ढोका पनि बनाएको छैन । प्लाष्टर पनि भएको छैन । विद्युत जडान गर्न पनि बाँकी छ । यस्तो अधुरो भवनमा राखेर पढाउन सक्ने अवस्था छैन ।’

अधुराे भवन

विद्यालयमा एउटा संस्थाले एक किलोवाटको सोलार जडान गरिदिएको थियो, त्यो पनि विग्रिएको छ । शिक्षकहरुले विद्यालयको अधुरो भवनमा विद्यार्थी राखेर पढाउन वाध्य छन । विद्यालयमा खानेपानीको सुविधा पनि छैन । खानेपानीको लागि पनि विद्यार्थीहरु टाढा जानुपर्ने बाध्यता छ । यस्तो समस्या त विद्यालयको छदैछ । त्यसैमा शौचालय नहुदा शिक्षक विद्यार्थीहरुले निकै दुख पाउनु परेको अभिभावकहरुले बताएका छन ।

रास्कोट नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीले विद्यालयको समस्याप्रति आफूहरु जानकार भएको भन्दै बजेट अभावले केही गर्न नसकिएको ज्वालाखवरलाई बताउनु भयो ।

उहाँले आफ्नो नीतिगत पहल गर्ने काम भएको भन्दै बजेट सम्वधिका कामहरु नगरसरकारले गर्नुपर्ने धारणा राख्नु भयो ।
शिक्षा शाखा प्रमुख शाहीले माध्यमिक विद्यालयहरुमा कतै शौचालय हुदा हुदै पनि डबल पारिएको बताउदै शौचालय नहुने विद्यालयहरुलाई नगर सरकारले प्राथमिकतामा दिनुपर्ने सुझाव दिनु भयो ।

उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत आउने बजेट नआउदा समस्या परेको भन्दै रास्कोट नगरपालिका वडा नम्वर १ मा रहेको जनज्योति आधारभूत विद्यालय तामाकोटमा पनि यस्तै शौचालयको समस्या भएको बताउनु भयो ।

कक्षा ५ सम्म पढाई हुने मंगलादेवी आधारभूत विद्यालयमा १६५ जना विद्यार्थी अध्ययनरत छन । विद्यालयमा ३ स्थायी, १ राहत अनुदान शिक्षक गरी ४ जना शिक्षक रहेका छन भने १ जना कार्यालय सहयोगी छन । अभिभावकहरुले विद्यालयको समस्याप्रति स्थानीय सरकार गम्भीर भएर सोच्न र समस्याको समाधान गर्न जोडदार माग गरेका छन ।

पहिराेले विद्यालय आउने बाटाे नै भत्काएकाे

प्रतिक्रिया दिनुहोस