२९ चैत, काठमाडौं । मेडिकल माफिया तथा व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरी हतकडी लगाएर काठमाडौ पुर्याएको छ ।
भारतमा लुकिछिपी बसेका मेडिकल माफिया तथा व्यवसायी प्रसाईलाई तीनकुने हिंसात्मक घटनाका मुख्य योजनाकार भएको भन्दै पक्राउ गरी हतकडी लगाएर काठमाडौ पुर्याईएको हो । उनलाई आजै म्याद थपका लागि अदालत लगिदैछ । उनलाई ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्य विरुद्धको कसुर लगायतका मुद्धा लगाउने तयारी छ ।
तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं पुर्याएर जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पु¥याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पु¥याउँदा उनलाई हतकडी लगाइएको थियो ।
विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनामा २ जनाको ज्यान गएको थियो । १ सय बढी घाईते भएका थिए । दर्जनौ पसल तथ घरमा आगजनी गरिएको थियो । दर्जनौ गाडी जलाईएको थियो । त्यसपछि उनी भागेर भारत गएका थिए । प्रहरीले उनको खोजी गर्ने क्रममा भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याएको हो ।