रास्कोटमा नगरप्रमुखको ठाडो आदेशमा मनपरी खर्च, अभिलेख विना १ करोड ७४ लाख स्वाँह

२८ बैशाख, कालिकोट । रास्कोट नगरपालिकामा नगरप्रमुखको ठाडो आदेशमा सरकारी रकमको अनुत्पादक क्षेत्रमा मनपरी खर्च गर्दै अभिलेख विना पौने दुई करोड स्वाँह पारिएको छ ।

नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)को ठाडो आदेशमा आफ्ना पार्टीका नेता कार्यकर्ता र आसेपासेलाई पोस्न उक्त रकम अभिलेख विना मनपरी खर्च गरि स्वाँह पारिएको हो ।

महालेखा परिक्षकको कार्यालयले आफ्नो आर्थिक बर्ष २०७९।०८० को लेखा परिक्षण प्रतिवेदनमा नगरपालिकाले अनुत्पादनक क्षेत्रमा अभिलेख विना १ करोड ७४ लाख ५ हजार ३ सय ६१ रुपैया खर्च गरेको उल्लेख गरेको छ ।

नगरपालिकाले बर्षभरी गाडी भाडामा मात्र २६ लाख २६ हजार ५ सय, इन्धन खर्चमा मात्र ३४ लाख, ८१ हजार २ सय ६५ र विविध खर्च शिर्षकमा मात्र ४६ लाख ३७ हजार ५ सय ९६ रुपैया गरी कुल १ करोड ७४ लाख ५ हजार ३ सय ६१ रुपैया अनुत्पादनक क्षेत्रमा अभिलेख विना खर्च गरेको महालेखा परिक्षेकको प्रतिवेदनले जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (४) अनुसार नगरपालिकाले स्थानीय यातायात रुट निर्धारण, रुट अनुमति खारेजी र भाडादर समेत निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

तर यतिका धेरै भाडा भने नगरपालिकाले तिर्नैपर्ने व्यवस्था छैन । नगरपालिकाले यो भाडा कसलाई ? कसरी ? र के नाममा तिर्यो ? रास्कोटी जनताको लागि गम्भीर प्रश्न उठाई दिएको छ । नगरपालिका श्रोतका अनुसार यो भाडा नगरपालिकाका नगरप्रमुख शाहीको चढने गाडी भाडाको नाममा भुक्तानी गरिएको हो ।

२६ लाख २६ हजार ५ सय रुपैया एक बर्षमा गाडी भाडा तिर्ने नगर प्रमुख शाहीले यो रकमबाट नयाँ गाडी नै खरिद गर्न सक्थे होला । त्यसो गर्दा जनताको रकम लुटन नपाईने भएकै कारण यस्तो गरिएको नगरपालिका निकट श्रोतले बताएको छ ।

नगरप्रमुख शाहीले आफ्नै नातेदारबाट गाडी भाडामा लिने गरेको र नगरपालिकाको पैसा सबै भाडाको नाममा उतै वुझाउने गरेको खुल्न आएको छ ।

नगरपालिकाले यो रकम अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै लेखा परिक्षण प्रतिबेदनमा कडा टिप्पणी गरिएको छ ।

यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर नगरपालिकाले भने आर्थिक वर्ष २०७९।०८० मा मात्र इन्धन शिर्षकमा ३४ लाख ८१ हजार २ सय ६५ रुपैया खर्च गरेको छ । यो अत्यधिक बढी खर्च हो । इन्धन खर्चको नाममा आसोपासेहरुलाई नगरप्रमुखले पोस्ने काम गरेको नगरपालिका श्रोतको दावी छ ।

इन्धन खर्च गर्दा सवारी लगबुक नभएको, सवारीको प्रयोजन र उद्देश्य खुलाउने नगरिएको, नगरप्रमुखको आदेशको आधारमा समेत इन्धनको ठेली वितरण गरिएको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ ।

नगरपालिकाले विविध खर्च शिर्षकमा पनि अनियमित खर्च गरेको पाईएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

तर नगरपालिकाले ४६ लाख ३७ हजार ५ सय ९६ रुपैया आव २०७९।०८० मा विविध शिर्षकमा मात्र अनियमित खर्च गरेको खुलासा भएको छ ।

विविध खर्चमा अधिकांश खर्चको कार्यक्रमसँग भिडान हुने गरी अभिलेख नराखेको, खर्चको अवस्था यकिन गर्न सक्ने अवस्था नभएको भन्दै महालेखाले यस्ता अनुत्पादक खर्चमा कटौती गर्न चेतावनी दिएको छ ।

विविध खर्च अन्तरगत खाजा नास्ता वापत रोयल चौइस फर्मका नाममा ४ लाख १९ हजार ३ सय ५४, गाडी नविकरण तथा अन्य खर्च ३ लाख ५६ हजार, मर्मत आदेश अनुसार ३९ हजार र खरिद आदेश अनुसार १ लाख १३ हजार ५६ रुपैया झुक्तानी दिएको छ । यसमा एकातिर गाडी भाडा भनेर रकम भुक्तानी दिएको छ भने अर्कोतिर गाडी मर्मत शिर्षकमा समेत अत्यधिक भुक्तानी गरिएको छ । यो आफैमा विरोधाभाष भएर देखिएको छ । भाडामा ल्याएको गाडीमा यत्तिका कसरी मर्मत खर्च आयो ? प्रश्न गम्भीर उठेको छ ।

रास्कोटी जनताको विकासको रकम नियमविपरित अभिलेख विना नगरप्रमुखकै आदेशमा दुरुपयोग भएको सरकारी लेखा परिक्षणकै प्रतिवेदनले नै स्पष्ट पारेको छ । यस्ता लुटेरा र भ्रष्टहरुलाई जनताले राम्रोसंग चिन्नु पर्ने र कडा सजाय दिनुपर्ने नगरपालिकाका एक जनप्रति बताएका छन ।

प्रतिक्रिया दिनुहोस