नाबालिग बलात्कार आरोपमा वाईसीएलका प्रदेश सदस्य पक्राउ

१३ असार, रुकुम । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलका कर्णाली प्रदेश सदस्य रेशम केसी बलात्कार अभियोगमा पक्राउ पर्नु भएको छ ।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज समेत रहनु भएका केसी जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीमा गएराति सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ पर्नु भएको हो ।

रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टका अनुसार किशोरीले दुई महिना पहिले उहाँविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराउनु भएको थियो । जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत दाबी गरिएको छ ।
पहिले विभिन्न आश्वासन दिएर उजुरी दिनबाट रोके पनि आश्वासन पूरा नगरेपछि युवतीले उजुरी दिएको खुलेको छ । पक्राउ पर्नु भएका केसीलाई आज म्याद थप गरेर अनुसन्धान अघि बढाइने डीएसपी विष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस