११ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या गर्ने पाँचजना पक्राउ

१३ असार, काठमाडौ । सिन्धुपाल्चोकमा ११ बर्षीया नावालिकाको सामूहिक बलात्कार पछि हत्या गर्ने ५ जना पक्राउ गरेका छन ।
भोटेकोसी– ५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङ्निमा तामाङ, ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २३ वर्षीय लाक्पा पासाङ तामाङ पक्राउ परेका हुन ।
उनीहरुले असार १० गते बालिकालाई घरबाट चार सय मिटर पर मकैबारीमा लगेर सामूहिक बलात्कार गरेर घाँटी थिचेर हत्या गरेको खुलेको छ ।
असार ११ गते बिहान ९ः३० मात्र प्रहरीलाई बालिका हत्याको खबर पुगेको थियो । त्यसलगत्तै प्रहरी उपरीक्षक रामेश्वर कार्कीको कमान्डमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरी प्रमुख एसपी कार्कीले भन्नु भयो ‘काठमाडौंबाट तालिम प्राप्त कुकुर लिएर गएकाले दोषी पक्राउ गर्न ठूलो मद्दत भयो ।’ छ्यादी जंगलमा च्याउ टिप्न गएका मानिसले बालिकाको शव भिरको रुखमा अल्झिरहेको देखेपछि प्रहरीलाई सूचना दिएका थिए ।
नशामा लठ्ठिएका पाँच युवा मिलेर सामुहिक बलात्कार गरेपछि हत्या गरेर नाबालिकालाई घिसार्दै लगेर जंगलको भिरबाट लडाएको प्रारम्भिक बयानको क्रममा खुलेको उहाँले बताउनु भयो ।
‘बालिकालाई मकैबारीमै बलात्कारपछि हत्या गरेको अनुसन्धानमा खुलेको छ,’ प्रहरी प्रमुखले भन्नु भयो, ‘केही गरी घाइतेमात्रै हुँदा सबै पोल खुल्ने डरले घिसार्दै जंगलमा लगेर ढुंगाले किचेर भिरबाट लडाएको बयानको क्रममा खुलेको छ ।’
घटनास्थल पुगेको प्रहरी टोलीले सुरुमा शंका लागेको एक युवालाई पक्राउ गरेको थियो । ती युवकले घटनास्थल मकैवारी र भिर देखाएका थिए । घटनास्थल देखाएर फर्केपछि उनले प्रहरीलाई छक्याउन लुगा परिवर्तन गरेका थिए । तर, तालिम प्राप्त कुकुरले तिनै युवकलाई पक्रेको थियो । त्यसपछि उनैले अन्य चारजनाको पनि सुराक दिएका थिए ।
पक्राउपछि पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय चौतारा लगिएको छ । मुलुकी अपराधसंहिता ०७४ को करणी र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर दोषीउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चौताराका सूचना अधिकारी डिएसपी माधवराज खरेलका अनुसार नाबालिकाको बुबाआमा दुवै बैदेशिक रोजगारका लागि इराकमा हुनुहुन्छ । बालिका दिदीको घरमा बसेर पढ्दै थिइन ।

प्रतिक्रिया दिनुहोस