३१ असार, बाँके । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशको गहिरीदो समस्याको समाधान गर्न ‘नयाँ राजनीतिक मार्गचित्र’ आवश्यक भएको बताउनु भएको छ ।
मंगलवार बाँकेको कोहलपुरमा वैद्य निकट क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुसंगको भेटघाटमा नेकपाका प्रवक्ता प्रकाण्ड सीले देशको समस्या निकै गम्भीर मोडमा पुगेको भन्दै समस्याको समाधान गर्न नयाँ राजनीतिक मार्गचित्र आवश्यक भएको बताउनु भएको हो ।
उहाँले वर्तमान सत्ता र सत्ता संचालन गर्ने शासकहरु पूर्ण असफल भएको जिकिर गर्दै समाजवादी व्यवस्था, नयाँ नेतृत्व र नयाँ नीतिले मात्र वर्तमान संकटको अग्रगामी समाधान दिने ठोकुवा गर्नु भयो ।
नेकपाका प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘सत्ता संचालन गर्ने शासकहरुका कारण देश संकटमा छ, राज्यसत्ता संचालन गर्नेहरुबाट समस्याको समाधान सम्भव छैन, राष्ट्रियता र जनताको समस्या हल गर्न विदेशी हस्तक्षेप रोक्न नयाँ पोलिटिकल मार्ग चित्र खोज्नुपर्छ ।’
उहाँले क्रान्तिकारी कम्युनिष्ट शक्ति, प्रगतिशील शक्तिहरु विचको एकता र धुव्रीकरणको आवश्यकता भएको बताउनु भयो । भेटघाटमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले नेकपा चुनावमा जानेवारे के कस्तो हुन्छ ? र प्रचण्डहरु जस्तो अवस्था त आउने होईन ? भनि जिज्ञासा राखेका थिए ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीले त्यसको जवाफ दिदै नेकपा प्रचण्डको पार्टी जस्तो संसदवादी पार्टी नहुने स्पष्ट पार्दै साम्राज्यवादको चौतर्फि हमला विरुद्ध ०८४ को चुनाव नेकपाका लागि एउटा क्रान्तिको मोर्चा मात्र भएको बताउनु भयो ।
‘चुनावका विरुद्ध चुनावको ट्याकल नगरी खुल्ला छोड्दा जनाआधार भत्कियो,वहिष्कारको कुरा गर्दा पार्टीका सीसीएम र डिसीएमहरुलाई समेत भोटहाल्नबाट रोक्न नसक्ने अवस्था आयो, दलालहरुलाई बैधानिकता दिलाउने साम्राज्यवादी मिशन पुरा हुने काम भयो’ प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘साम्राज्यवादले जनाआधार खुइल्याउने, पार्टी सिध्याउने राणनीति गर्यो । क्रान्तिकारीहरुले एउटै मोर्चाबाट लडेर हुदैन । सबै मोर्चाबाट लड्नु पर्छ भनेर चुनाव प्रयोग गर्ने हो ।’
उहाँले २१ औं सताव्दीमा २० औं सताव्दी जस्तो साम्राज्यवाद नभएको भन्दै अहिले विश्व वहुधुव्रमा गएको बेला साम्राज्यवाद र दलाल पुँजीवाद विरुद्ध लड्ने तरिका पनि नयाँ चाहिने टिप्पणी गर्नु भयो ।
०४८ सालमा पनि पार्टीले चुनाव प्रयोग गरी जनयुद्धको तयारी भएको भन्दै उहाँले चुनाव बेला बेला विश्वका कम्युनिष्ट पार्टी र नेपालका माओवादीहरुले समेत प्रयोग गरेको स्मरण गर्नु भयो ।
उहाँले चुनाव प्रयोगको कार्यनीति र बहिष्कारको कार्यनीति आफ्नो बर्गको हितमा के गर्दा फाईदा हुन्छ ? भनेर समय अनुकूल प्रयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
उहाँले वर्तमान राज्य संचालकहरुले नै देशमा निरासा बाँडेको, देशमा वेरोजगार बढेको र विदेशीने नेपालीहरुको संख्या पनि बढेको भन्दै त्यसलाई रोक्ने विकल्प समाजवाद वाहेक अर्को विकल्प नभएको दाबी गर्नु भयो ।
नेकपाका प्रवक्ता प्रकाण्डसंग क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता दिपक लगायतका नेता कार्यकर्ताहरु राजनीतिक भेटघाट गर्न आएका थिए ।