६ साउन, काठमाडौ । नेकपा माओवादी केन्दका उप–महासचिव जनार्दन शर्मा (प्रभाकर)ले नेकपा माओवादीको एक्काईसौ सताव्दीको जनवादको ‘मुख्य नेता सत्तामा नजाने’ कुरा कार्यान्वयन हुन नसकेकाले माओवादी विग्रिएको खुलासा गर्नु भएको छ ।
मंगलवार काठमाडौमा भएको ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै उप–महासचिव शर्माले माओवादीको एक्काईसौ सताव्दीको जनवादको ‘मुख्य नेता सत्तामा नजाने’ कुरा कार्यान्वयन हुन नसकेकाले माओवादी विग्रिएको खुलासा गर्नु भएको हो ।
उहाँले भन्नु भयो ‘एक्कासौं सताव्दीको जनवाद धेरै महान थियो, त्यो कार्यान्वयन गर्न सकेनौ, शान्ति प्रक्रियापछि समाप्त भयो । मुख्य नेता सत्तामा नजाने थियो, त्यो कुरा गर्न सकेनौ । माओवादी त्यहीबाट विग्रियो । अहिले संसदीय भाँसमा जाकिएका छौ ।’
नेता शर्माले कम्युनिष्ट पार्टीमा युवा नेताको आवश्यकता रहेको भन्दै पुराना नेताबाट देशको समस्या समाधान नहुने स्पष्ट विचार राख्नु भयो ।
उहाँले लोकतान्त्रिक अभ्यासको कुरा वाहिर भन्दा पार्टीमा जरुरी भएको जिकिर गर्नु भयो । पार्टी पुरानो तरिकाले नचल्ने बताउदै हरेक कमिटी निर्वाचित हुने प्रणाली कम्युनिष्ट पार्टीमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीमा एकमानावाद र निरंकुताको अन्त्य हुनुपर्ने विचार पनि राख्नु भयो ।
‘समाजवाद आफैबाट लागु गर्नु पर्छ, लोकतान्त्रिक हुनुपर्छ । प्रतिस्पर्धामा निर्वाचित नेतृत्व आजको आवश्यकता हो । नयाँ पुस्तालाई नेतृत्व दिनु पर्छ । पुराना नेताहरुले अभिभावक भएर वस्नु पर्छ’ नेता शर्माले भन्नु भयो ।
उहाँले प्रचण्डतर्फ संकेत गर्दै ७ दशकसम्म अरुलाई पालो दिनु पर्दैन ? भनि प्रश्न समेत गर्नु भयो । नेता शर्माले समाजवादका लागि कम्युनिष्टहरुको एकता र धुव्रीकरण अनिवार्य भएको बताउनु भयो ।