समाजवादीहरुको धुव्रीकरणका लागि नयाँ प्रस्ताव र नयाँ घोषणापत्र चाहिन्छः विप्लव सी

७ साउन, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादीहरुको धुव्रीकरणका लागि नयाँ प्रस्ताव र नयाँ घोषणापत्र चाहिने बताउनु भएको छ ।

समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौमा बुधवार आयोजना गरेको ४७ औं स्मृति दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले समाजवादीहरुको धुव्रीकरणका लागि नयाँ प्रस्ताव र नयाँ घोषणापत्र चाहिने बताउनु भएको हो ।

‘भ्रष्टाचार र विचौलियाहरुको आरोप खेपिरहेका छौ, देशमा नयाँ योगदानको माग गरेको छ’ महासचिव विप्लवले भन्नु भयो, ‘त्यसका लागि समाजवादी धुव्रीकरण आवश्यक छ, एकताको निम्ति नयाँ प्रस्ताव र नयाँ घोषणापत्र तयार गर्नुपर्छ ।’

उहाँले नयाँ प्रस्ताव र नयाँ घोषणापत्र नेपालको राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक क्षेत्रमा कम्युनिष्टहरुले खोज्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

‘दलाल पुँजीवाद र विचौलीयाहरुलाई खाण्डोमा हाल्न नयाँ वहस आवश्यक छ । कम्युनिष्टहरुको हिजोका प्रस्ताव र नीतिले पुग्दैन, नयाँ प्रस्तावको खोजि गर्नुपर्छ’ उहाँले भन्नु भयो, ‘हामी कुन बाटोमा जाने हो ? हाम्रो राजनीति, समाजिक, सांस्कृति,आर्थिक पक्ष के हुने हो ? धर्म भनेको अज्ञानतामाथिको हतियार हो । हामी भौतिकवादी बन्न सक्ने कि नाई ? प्रचण्डले भौतिकवादी प्रवचन गर्न सक्ने कि नाई ।’

महासचिव विप्लवले कम्युनिष्टहरुको स्कुल, कलेज, स्वास्थ्य शिक्षा कस्तो हुने ? स्पष्ट पारिनु पर्ने बताउनु भयो । उहाँले जनयुद्धमा कम्युनिकरण र सर्वहाराकरणको प्रस्ताव प्रचण्डले ल्याएको स्मरण गर्दै शान्तिप्रक्रिया पछि त्यो कार्यान्वयन हुन नसेको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘कम्युनिकरण र सर्वहाराकरण खै प्रचण्डले लेखेको कुरा आज कार्यन्वयन भयो ? यो कम्युनिष्ट र माओवादीहरुले लागु गर्ने आँट गर्नु पर्यो नि ।’
उहाँले नेपालमा श्रम,शक्ति र वर्गप्रति विश्वास गर्नु पर्ने भन्दै साम्राज्यवादीहरुको गुलाम बन्ने र बनाउने काम अहिलेको दलाल व्यवस्थाले गरेको जिकिर गर्नु भयो ।

देशको वर्तमान संकटको निकास समाजवाद भन्दा अर्को विकल्प नभएको भन्दै उहाँले समाजवादी व्यवस्थाका लागि धुव्रीकरणको आवश्यकता अनिवार्य भएको बताउनु भयो ।

‘यो देशको मालिक श्रमजीवी जनता हुनुपर्छ’ महासचिव विप्लवले भन्नु भयो, ‘त्यसका लागि एकदिन समाजवादीहरु एकताबद्ध हुन्छन र जितिन्छ ।’

प्रतिक्रिया दिनुहोस