पार्टी एकता र संयुक्त मोर्चा गरौं, अगाडि बढौंः प्रचण्ड

७ साउन, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट समाजवादीहरु बीच पार्टी एकता र संयुक्त मोर्चा गरेर अगाडि बढन अपिल गर्नु भएको छ ।

समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौमा बुधवार आयोजना गरेको ४७ औं स्मृति दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले विचार मिल्नेसंग एकता र एजेण्डा मिल्नेसंग वृहत संयुक्त मोर्चा गरेर अगाडि बढनुपर्ने बताउनु भएको हो ।

‘दलाल नोरशाही पुँजीवाद मुख्य दुश्मन हो, योसंग समर्पण गर्ने विरुद्ध संघर्ष गर्नु पर्छ’ पूर्वप्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले भन्नु भयो, ‘यसका लागि धुव्रीकरणको पहल गर्नुपर्छ, पार्टी एकता र संयुक्त मोर्चा बनाऔं, अगाडि बढौं । पुष्पलाललाई आधार बनाएर पार्टी एकता गरौं ।’

उहाँले माओवादी जनयुद्ध पुष्पलालको विचार सिद्धान्त अनुसार अगाडि बढेको दाबी गर्दै दोस्रो जनआन्दोलन पनि उहाँकै विचारको कार्यान्वयन भएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले जनयुद्धका कारण संविधान सभा र देश गणतन्त्र सम्म आएको जिकिर गर्नु भयो । उहाँले पुष्पलाल सच्चा क्रान्तिकारी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मात्र नभएर विचार र चिन्तक समेत भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस