२० साउन, काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट बामपन्थीहरु बीचको एकता पुरानो जगमा हुन नसक्ने स्पष्ट पारेको छ ।
नेकपाले एकताका लागि नयाँ घोषणापत्र, नयाँ केन्द्र,नयाँ कार्यक्रम र इमान्दार नेतृत्व आवश्यक पर्ने निर्णय गरेको छ ।
नेकपाको सोमबार काठमाडौमा बसेको स्थायी समितिको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा पार्टी महासचिव विप्लव सीले नेकपासंग माओवादी केन्द्रले एकता गर्ने निर्णय गरेको भनेर प्रचार गरी भ्रमछरे पनि पुरानो आधारमा एकता हुन नसक्ने बैठकमा बताउनु भएको स्थायी समिति सदस्य भरत सीले जानकारी दिनु भयो ।
‘नयाँ आधारमा नयाँ घोषणापत्र, नयाँ केन्द्र,नयाँ कार्यक्रम र इमान्दार नेतृत्व सहित मात्र एकता सम्भव हुन्छ’ महासचिव विप्लवले भनेको नेता भरत सीले बताउनु भयो ।

‘माओवादी केन्द्रको बैठक जनार्दनको विषयमा केन्द्रीत हो, त्यो पनि निश्कर्षमा पुग्न सकेन, जनार्दन र विप्लव अतिवादी भए भनेर पासाङले बोले, चारैतिरबाट आलोचना पनि भयो । त्यसलाई व्यालेन्स मिलाउन माओवादी केन्द्रले नेकपासंग एकताको मौखिक निर्णयको कार्ड फालेको हो’ नेता भरत सीले भन्नु भयो ।
उहाँले यदि माओवादी केन्द्र एकताको एजेण्डामा इमान्दार भए किन १६ बुँदेमा एकताको कुरा नगरेको हो ? भनि प्रश्न पनि गर्नु भयो ।
नेकपाले देशको निकास पुरानो नीति,नेतृत्व र विचारबाट सम्भव नहुने निश्कर्ष निकालेको छ । उसले नयाँ केन्द्र,नयाँ घोषणापत्र बनाएर मात्र एकता गर्ने ढोका खुल्ला गरेको छ ।
नेकपाले आफु देशको नयाँ विकल्पको धार भएको दाबी गर्दै माओवादी केन्द्र वा कुनै पनि पार्टीसंग संसदवादलाई संरक्षण गर्ने गरेर एकता गर्ने पक्षमा नेकपा नभएको बरु नयाँ केन्द्र बनाएर समाजवादी सत्ताका लागि सबैलाई एकता गराउने पक्षमा रहेको बताएको छ ।
नेकपाको स्थायी समिति बैठकले आगामी पार्टीको रणनीति र योजना ठोश रुपमा तर्जुमा गर्न तथा नयाँ केन्द्र निर्माणबारे ठोश निर्णय गराउन भदौ २२ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । नेकपाले केन्द्रीय समितिको बैठक अघि भदौ १४ गते स्थायी समिति र भदौ १७ गतेबाट पिवि बैठक समेत बोलाएको छ ।