भ्रष्टाचार संस्कृति जस्तै भयो, नयाँ व्यबस्थाबाट समाधान खोजौः विज्ञहरु

२४ साउन, काठमाडौ । आर्थिक क्षेत्रका विज्ञहरुले नेपालमा भ्रष्टाचार संस्कृति जस्तै भएको टिप्पणी गरेका छन ।

अर्थविज्ञहरुले राजनीतिक नेतृत्व तहमा भ्रष्टाचार विना टिक्नै नसक्ने जस्तो संस्कृति देखिएको बताएका हुन ।

उनीहरुले नेपालमा बढदै गएको भ्रष्टाचार अहिलेको दलाल संसदीय व्यवस्थाबाट हल हुन नसक्ने र नयाँ व्यवस्था र राज्य प्रणाली चाहिनेमा जोड दिएका छन ।

नेकपा निकट भ्रष्टाचार अध्ययन समितिले शुक्रवार काठमाडौमा आयोजना गरेको ‘अर्थतन्त्र र भ्रष्टाचार’ विषय अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिकांस अर्थविज्ञहरुले यस्तो टिप्पणी गरेका हुन ।

अर्थविज्ञहरुले समस्याको पहिलो मुलजरो दलाल पुँजीवाद भएको र पुँजीवादलाई टिकाउन त्यसअन्तरगत बनाईएका कानुनहरु भएको दाबी गरेका छन ।

विज्ञहरुले दलाल पुँजीवाद रहदासम्म नेपालमा भ्रष्टाचारमा कमी नहुने विचार राखेका छन ।

नेपाल राष्ट्र बैङकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले भ्रष्टाचार विभिन्न मोडालिटीबाट हुने गरेको खुलासा गर्नु भयो ।

उहाँले भ्रष्टाचार संस्कृति जस्तै भएको भन्दै नेपालमा भ्रष्टाचार नगरेसम्म टिक्न नसक्ने भएको जिकिर गर्नु भयो ।

‘सार्वभौम सत्ता बेचिएको छ, कोशीमा भारतीय पोष्ट राखिएको छ, अध्यादेशबाट नियुक्त संवैधानिक निकायका पदाधिकारीहरुको सर्वोच्चमा परेको मुद्धामा अदाललत बैधानिकता दिन्छ । यी भ्रष्टाचारजन्य कार्यहुन’ पूर्वगर्भनर क्षेत्रीले भन्नु भयो । उहाँले भ्रष्टाचार संस्कृति जस्तै भएको भन्दै यसलाई नरोकेसम्म देशको आर्थिक बृद्धिदर उकालो नलाग्ने बताउनु भयो ।

कार्यक्रममा पूर्वमहालेखा नियन्त्रक सुकदेव भट्टराईले सांसदहरु मन्त्री हुने व्यवस्था खारेज नगरेसम्म भ्रष्टाचारमा कमी नहुने ठोकुवा गर्नु भयो ।

‘सांसदहरुको नीति र कानुन बनाउने काम हो, मन्त्री हुन मिल्दैन । त्यो व्यवस्था गरिनु पर्छ’ उहाँले भन्नु भयो, ‘मैले सांसदहरुको निर्वाचन क्षेत्रमा दिने गरिएको ५ करोड रकम बन्द गरिनु पर्ने पनि आवाज उठाए । अहिले अदालतबाट बन्द गरिएको छ । सांसद कोषको बजेट दुरुपयोग भएको थियो ।’

पूर्वमहालेखा नियन्त्रक भट्टराईले स्वीजरल्याडमा सांसदहरु मन्त्री नहुने व्यवस्था भएको उदाहरण दिदै स्वीजरल्याण्ड हाम्रो भन्दा धनी देश छ, विज्ञहरुबाट कार्यपालिका हुदा राम्रो भएको छ, भ्रष्टाचार कम छ भन्नु भयो ।

उहाँले जहाँ सरकार त्यहाँ भ्रष्टाचार हुने गरेको भन्दै ०४७।४८ तिर नेपालको आर्थिक वृद्धिदर ७/८ प्रतिशत रहेको जिकिर गर्दै अहिलेसम्म नेपालको आर्थिक वृद्धिदर साढे ४ प्रतिशत भन्दामाथि नभएको बताउनु भयो ।

उहाँले राजनीति प्रणाली र व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार नियन्त्रण नहुने र आर्थिक बृद्धि पनि नहुने विचार राख्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा प्राध्यापक गुमानसिंह खत्रीले राज्यसत्ता परिवर्तन विना भ्रष्टाचार अन्त्य नहुने बताउनु भयो ।

उहाँले उत्पादन प्रणालीलाई नवउदारवादबाट उदारीकरणतिर लिनुपर्नेमा जोडदिनु भयो । सरकारले उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई दिएमा राष्ट्रियपूजीको विकास हुने धारणा राख्नु भयो ।

‘देशमा समस्या छ, गम्भीर संकट छ, यो राजनीतिक र सामाजिक आन्दोलनमा वहस जरुरी छ’ उहाँले भन्नु भयो, ‘मुख्यकुरा राजनीतिको माथिल्लो निकायले सोच्नु पर्छ, एनसेल, हवाईटबढी, भुटानी शरणार्थी काण्ड,गिरीबन्धु टि स्टेट,बालुवाटार जग्गाकाण्ड यो तलबाट भएको भ्रष्टाचार होईन, ठुलो स्केलको कमिशन र भ्रष्टाचार छ ।’

उहाँले व्यक्तिको आनीवानी र व्यवहार मात्र भ्रष्टाचारको समस्या नभएको भन्दै नीति,नेतृत्व र प्रणालीमै सुधार चाहिने जिकिर गर्नु भयो ।

अर्थविज्ञ डाक्टर डिल्लीराज खनालले राजनीतिको राम्रो आवरणमा भ्रष्टाचार हुने गरेको टिप्पणी गर्नु भयो ।

‘अर्थतन्त्र मठ्ठीभर मान्छेको कव्जामा छ, कानुन पनि उनीहरुको हितमा छ, गरिबी र असमान्ता बढदो छ,अर्थतन्त्रको बृद्धिदर गुणात्मक छैन’ डाक्टर खनालले भन्नु भयो, ‘यो बेला जनताको पक्षमा र भ्रष्टाचारीको विरुद्ध कडा कानुन बनाउनु पर्छ, बनाउने मात्र होईन कार्यान्वयन गर्नु पर्छ ।’

उहाँले ठुला आयोजनादेखि विभिन्न तहमा ठुलो भ्रष्टाचार हुने गरेको दाबी गर्नु भयो ।

कार्यक्रममा अर्थशास्त्री डाक्टर चन्द्रमणी अधिकारीले भ्रष्टाचार आफ्नो उत्पादन नहुदा र प्रणाली राम्रो नहुदा हुने गरेको बताउनु भयो ।

‘यो नेपालमा तीन किमिमले बढेको छ, पहिलो राजनीतिक आवरण, दोस्रो व्यूरोक्रेशी भित्रका कर्मचारीहरु र तेस्रो धेरै सम्पत्ति थोरै व्यक्तिको कव्जामा हुदा।’ उहाँले भन्नु भयो ।

अर्थशास्त्री अधिकारीले देशको पुरा सम्पत्ति ९१ जनाको हातमा जाने अवस्था भएकोमा चिन्ता व्यक्त गर्दै आर्थिक प्रणाली सुधार गर्नुको विकल्प नभएको जिकिर गर्नु भयो ।

‘नेपालको राजस्व पनि ५ भागको २ भाग मात्र कोषमा आउछ, ३ भाग आउदैन, यो भ्रष्टाचारमा गएको छ’ उहाँले भन्नु भयो, ‘नीतिगत भ्रष्टाचार व्यापक छ, आर्थिक नियम कानुनहरु कुनै विगहाउस र दलालहरुको हितलाई केन्द्रमा राखेर बनाउने गरिएको छ, यो रोकिनु पर्छ ।’

कार्यक्रममा ट्रास्फरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नेपालमा सामान र सेवा उत्पादन नहुदा भ्रष्टाचार बृद्धि भएको बताउनु भयो ।

उहाँले नेपालको संविधान नै भ्रष्टाचारी संरक्षण गर्ने भएको त होईन ? आसंका गर्दै ‘आज चोर भोलि साथी’ बन्ने यो संविधान कस्तो हो ? भनी प्रश्न गर्नु भयो ।
ट्रास्फरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष शर्माले नियुक्ति गर्दा र कानुन बनाउदा भ्रष्टाचार हुने गरेको जिकिर गर्दै देश दोहन बनाउने राजनीति भएको बताउनु भयो ।

उहाँले भ्रष्टाचारले तलको जनता पीडित भएको भन्दै विचौलीया र भ्रष्टहरुको विगविगी भएको टिप्पणी गर्नु भयो ।

‘माथिदेखि तलसम्म भ्रष्टाचार छ, स्थानीय निकायमा पनि जस्ताको तस्तै खर्च छैन, बढी बेरुजु छ’ उहाँले भन्नु भयो, ‘ऐन कानुन बनाउने, नियुक्ति गर्ने काम राजनीतिको हो । राजनीति चोखिनु पर्यो । भ्रष्टाचार विरुद्धको क्रान्ति चाहिन्छ । राजनीतिक क्रान्ति भन्दा भ्रष्टाचार विरुद्धको क्रान्ति आवश्यक छ ।’

उहाँले भ्रष्टाचार भनेको अरुबाट नभई निर्णयकर्ताबाट हुने गरेको दाबी गर्नु भयो । ट्रास्फरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष शर्माले प्रधानमन्त्री र मन्त्रिपरिषदबाट पहिला भ्रष्टाचार रोकिनु पर्ने जिकिर गर्नु भयो ।

‘सुशासन बनाउने सरकारको काम हो, कार्यकारी प्रमुख प्रधानमन्त्री हो, मन्त्रिपरिषद हो । छुटै सुशासन समिति बनाउनुको अर्थ छैन’ उहाँले भन्नु भयो ।

उहाँले मन्त्रिपरिषदले गरेको निर्णय अख्तीया दुरुपयोग अनुसन्धान आयोगले हेर्न नमिल्ने प्रणाली पनि भ्रष्टाचार भएको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य चिरन सी, नेकपाका केन्द्रीय सदस्य भृकुटी सी, चिरनजिवी सी संचारकर्मी तथा विज्ञहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस