३० साउन, बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्ट पार्टी भित्रको युवा पुस्ता धुव्रीकरणको पक्षमा रहेको खुलासा गर्नु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा भोलि हुने वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्न आउने क्रममा शुक्रवार बाँकेको कोहलपुरमा कार्यकर्ताहरुसंगको भेटघाटमा महासचिव विप्लवले संक्षिप्त विचार राख्दै नेपालका कम्युनिष्ट पार्टी भित्रको युवा पुस्ता धुव्रीकरणको पक्षमा रहेको खुलासा गर्नु भएको हो ।
महासचिव विप्लवले देश राजनैतिक अस्थीरता र संकटमा परेको जिकिर गर्दै नयाँ निकास नखोजेसम्म देश यस्तै अवस्थामा चल्न नसक्ने ठोकुवा गर्नु भयो ।
आफूले राजनीतिक दलका नेतााहरुसंगको भेटघाटमा सबैदलहरुभित्र देश यस्तै अवस्थामा चल्न नसक्ने कुरा दलका नेताहरुले भनिरहेको पाएको जानकारी दिनु भयो ।
‘देशमा राजनैतिक अस्थिरता छ, सबै पार्टीमा पनि संकट छ, नेकपा भने लोकप्रिय पार्टी बन्दै गएको छ जनतामा विश्वास बढदै गएको छ’ महासचिव विप्लवले भन्नु भयो, ‘यो बेला युवा पुस्ता शिघ्र धुव्रीकरणको पक्षमा देखिन्छ, नेकपाले उठाएको एजेण्डामा देश वरिपरि आएको छ, नेकपा विना नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको धुव्रीकरण पनि नहोला जस्तो छ ।’
उहाँले भदौ पहिलो साता काठमाडौमा नेकपासंग ठुलो धुव्रीकरण हुन लागेको पनि खुलासा गर्नु भयो । उहाँले ०८४को चुनाव अघि र पछिसम्म नेपालमा धुव्रीकरणको लहर चल्ने चर्चा गर्दै नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ नेतृत्वको वरिपरि देश आउने विश्वास गर्नु भयो ।
महासचिव विप्लवले सबै पार्टी भित्र विवाद भएपनि नेकपा भने एकताबद्ध पार्टीको रुपमा देशलाई निकास दिने गरी जनताको आसा र भरोसा केन्द्रीत भएको दाबी गर्नु भयो ।
‘माओवादी केन्द्रले नेकपासंग एकताको निर्णय गरेपनि कस्तो खालको एकताको परिकल्पना हो ? विचार, संगठन र समाजवादी क्रान्तिका लागि रुपान्तरण सहित नयाँ सोच हुनुपर्छ’ उहाँले भन्नु भयो ।
आफूले समाजवादी मोर्चा गति नलिने हो भने स्थगित गरौ भनेको भन्दै भंग गरौ नभनेको बताउनु भयो ।
समाजवादी मोर्चा नेपालका संयोजक समेत रहनु भएका महासचिव विप्लवले समाजवादी मोर्चालाई धेरै पार्टी अटाउने गरी नयाँ ढंगले सोच्नु पर्नेमा आफ्नो जोड रहेको बताउनु भयो ।
‘नेकपाको काधँमा जिम्मेवारी बढेको छ, देशलाई निकास दिने दायित्व पनि छ’ उहाँले भन्नु भयो, ‘त्यसो भएर समाजवादी क्रान्ति पुरा गर्नका लागि सबै इमान्दार कम्युनिष्ट तथा वामशक्तिहरुसंग धुव्रीकरण जरुरी छ । नेकपाले त्यो पहल गरिरहेको छ ।’
