१७ भाद्र, काठमाडौ । रामेछाप घर भएका हाल काठमाडौ शिक्षण अस्पतालमा उपचारर्थ मृगौला रोग पीडित राजेशलाई १० हजार १०० रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा र केन्द्रीय सचिवालय सदस्य साहास भट्टले सो रकम मृगौला पीडित राजेशका आफन्त पूर्ण मार्फत हस्तान्तरण गर्नु भएको हो ।
जनपत्रकार संगठन नेपालले गण्डकी गाउँपालिका ४ गोर्खाका घर भएका पत्रकार साहस भट्टका बुवा ८५ बर्षिय नन्द प्रसाद भट्टको उपचारका क्रममा साउन १३ गते निधन भएपछि उहाँको परिवारलाई सहयोग दिन आर्थिक संकलन गरेको थियो ।

तर मनकारी छोरा तथा पत्रकार साहस भट्टले आफ्नो परिवार भन्दा ठुलो समस्या मृगौला रोग पीडित राजेशको देखिएको भन्दै त्यो रकम उहाँलाई हस्तान्तरण गर्न संगठनलाई प्रस्ताव गर्नु भएको थियो ।
उहाँको प्रस्तावअनुसार सोमवार काठमाडौमा भएको एक कार्यक्रमबिच राजेशको आफन्त मार्फत सो रकम मृगौला रोग पीडित राजेशलाई हस्तान्तरण गरिएको हो । मृगौला रोग पीडित राजेश विगत ३ महिनादेखि शिक्षण अस्पतालमा उपचारमा हुनुहुन्छ । उहाँको दुवै मृगौलाले काम गर्न छोडेपछि अहिले डाईलासिस भईरहेको छ ।
