रास्कोट ८ का वडाअध्यक्ष बराल दुई दिनदेखि सम्पर्क विहिन, खोजी कार्य जारी

१९ भाद्र, कालिकोट । रास्कोट नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष मनिराज वराल (स्टार) दुईदिन देखि हराउनु भएको छ ।

उहाँको दुईदिनदेखि खोजी कार्य जारी भएपनि यो समाचार तयार पार्दासम्म कुनै अवस्था थाहा हुन सकेको छैन । बुधवार दिउसोदेखि घरबाट ससुराली जान्छु भनेर जानु भएका वडाअध्यक्ष वराल अहिलेसम्म पारिवारिक सम्पर्कमा नहुदा निकै चिन्ता बढेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) टेक बहादुर रावतले बुधवार दिउसोबाट वडाअध्यक्ष वराल हराएको प्रहरीलाई परिवारले खवर गरेकाले बुधवार साँझ र आज दिनभर प्रहरी र परिवारका सदस्यहरुले खोजी कार्य गरेपनि कुनै जानकारी हुन नसकेको जानकारी दिनु भयो ।

आजसाँभ ८ बजेसम्म पनि वडाअध्यक्ष बरालको अवस्थाबारे कुनै जानकारी हुन नसकेको स्थानीयले बताएका छन । नेकपा माओवादी केन्द्रको तर्फबाट २०७९ सालको स्थानीय निर्वाचनमा उहाँ वडाअध्यक्ष पदमा विजयी हुनु भएको थियो ।

नम्र स्वभाव, इमान्दार र जनताका जनप्रिय वडाअध्यक्ष बराल हराएको खवरले परिवार र समग्र रास्कोटवासी जनतालाई दुखि तुल्याएको छ ।

यसवारे नेकपा माओवादी केन्द्रका रास्कोट नगर इन्चार्ज विजय बरालले वडाअध्यक्ष बराल आफ्नैघरमा वस्ने गरेको भन्दै बुधबार विहान १० बजे ससुराली घर वडा नम्बर ६ को लामासिम जान भनेर हिडेको बताउनु भयो ।

उहाँले वडा नम्बर ६ को कार्यालयको माथिल्लो मोडसम्म पुगेको मान्छेले देखेको बताएको तर पछि त्यहाँबाट कसैले नदेखिएको बुझिन आएको ज्वाला खवरलाई बताउनु भयो ।

वडा अध्यक्ष बराल विगत ३ महिनादेखि मानसिक असन्तुलनमा हुनुहुन्थ्यो । उहाँको केही समयअघि काठमाडौको पाटन मानसिक अस्पतालमा उपचार गराएर घर लिएको थियो ।

वडा नम्बर ८ का वडा सचिव कोपिला संज्यालले अध्यक्षको मानसिक समस्या भएको र विचमा एक हप्ता औषधि छुटेका कारणले यस्तो समस्या भएको हुनसक्ने बताउनु भयो ।

उहाँले वडाअध्यक्ष बरालले वडाको ऋणको विषयलाई लिएर बेला बेला चिन्ता गर्ने गरेको बताउनु भयो । वडा सचिवका अनुसार कसैले नपत्याउने ठाउँमा पुगियो भन्दै वडाअध्यक्ष सधैं चिन्तित मुहारमा देखिनु हुन्थ्यो । उहाँले सायद यस्तै तनावले अध्यक्ष बरालकाे मानसिक समस्या भएको हुनसक्छ बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस