विप्लव नेतृत्वको नेकपाको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै

१९ असोज, कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
नेकपाले यहि असोज २३ देखि २५ गतेसम्मको लागि केन्द्रीय कार्यालय कपिलवस्तुमा केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।
गत भाद्र २२ र २३ गते नेकपाको केन्द्रीय समितिको बैठक बसेको थियो । जेनजी आन्दोलनका कारण २६ गतेसम्मको लागि तय गरिएएको बैठक हतार हतार सकिएको थियो ।
जेनजी आन्दोलन पछिको विकसित घटनाक्रमलाई विश्लेषण गर्न र आवश्यक निर्णय लिन बैठक बस्न लागेको नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
नेकपाका महासचिव विप्लव सीले जेनजी आन्दोलन पछिको राजनीतिक अवस्था, वामपन्थी एकता र ध्रुवीकरणबारे केही ठोस निर्णय लिनु पर्ने भएकाले बैठक आहवान गर्नु भएको प्रवक्ता प्रकाण्ड सीले जानकारी दिनु भयो ।
यो बैठकले माओवादी केन्द्रसँगको एकता प्रक्रियावारे पनि ठोस निर्णय लिने अनुमान गरिएको छ ।
‘माओवादीसहित सिङ्गो समाजवादी मोर्चासँग एकता गर्ने भनिएको हो । तर माओवादीले केन्द्रीय समिति विघटन गरी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा जुटेको छ । पार्टी एकता गर्ने भनेको विचार, सिद्धान्त, कार्यदिशाको आधारमा हुने हो । अहिलेसम्म सामान्य छलफल बाहेक प्रक्रिया नै अगाडी बढेको छैन’ नेकपा उच्च श्रोतले भनेको छ ।
बैठकले अन्तरिम सरकार र निर्वाचनबारे नेकपाको नीतिबारे पनि ठोस निर्णय गर्ने एक नेताले जानकारी दिएका छन ।
नेकपाको केन्द्रीय कार्यालय श्रोतका अनुसार असोज २३ गते स्थायी समिति बैठक बस्ने छ भने त्यसपछि २५ गते केन्द्रीय समिति बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस