जेनजी आन्दोलनबाट लखेटिएकाहरुलाई बहिष्कार गरौ, वास्तविक माओवादीलाई जिताऔंः एटम सी

२४ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का पोलिट व्यूरो सदस्य एटम सीले माओवादी छोडेर भागेका र जेनजी आन्दोलनले लखेटिएकाहरुलाई साथ नदिन जनतालाई अपिल गर्नु भएको छ ।
बुधवार नेकपा (माओवादी) कालिकोटको ११ औं बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता एटम सीले माओवादी छोडेर भागेका र जेनजी आन्दोलनले लखेटिएकाहरुलाई साथ नदिन अपिल गर्नु भएको हो । उहाँले आउने निर्वाचनमा सच्चा र ओरिजिनल माओवादीलाई भारी मतले जिताउन पनि आग्रह गर्नु भयो ।
‘माओवादी आन्दोलनको रक्षा र माओवादी पहिचान जोगाउन पनि वास्तविक र ओरिजिनल माओवादीलाई कालिकोटवासी जनताले एकपटक साथ दिनु पर्छ’ नेता एटम सीले भन्नु भयो, ‘जेनजी आन्दोलनबाट लेखेटिएकाहरुलाई जनताले वहिष्कार गर्नु पर्छ, माओवादीको नाममा विगतमा बदनाम भएका र अहिले माओवादी छोडेकालाई वहिष्कार गर्नुपर्छ, किनकी उनीहरुले पटक पटक नेपाली जनतालाई लुटेका छन, ठगेका छन । ठग र लुटेराहरुलाई तह लगाउनु पर्छ ।’
नेता एटमले जेनजी आन्दोलनको मर्म अनुसार वर्तमान सरकारले काम गर्न नसकेको भन्दै अहिलको सरकार विदेशीहरुको चाहना बमोजिम बनेको जिकिर गर्नु भयो । उहाँले नेपालका संसदवादी दलहरुको भ्रष्टाचार, जनतामाथिको अत्याचार र दमनका कारण जेनजी आन्दोलन जन्मिएको स्पष्ट पार्नु भयो ।
‘अहिले पनि राष्ट्रिय राजनीतिक संकट जारी छ, यो दलाल व्यवस्था र अर्थप्रणालीले गर्दा हो । नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था विना बर्तमान राजनीतिक संकटको निकास आउन सक्दैन’ नेता एटमले भन्नु भयो ।
उहाँले नेपालको राष्ट्रिय स्वाधीनता निकै अप्ठ्यारोमा परेको भन्दै नेपाललाई स्वाधीन राष्ट्र बनाउन सबै देशभक्तहरुको साझा मोर्चा जरुरी भएको बताउनु भयो । उहाँले एमसीसीका मतियारहरु र अमेरिकी दलालहरुले नेपालमा एमसीसी पास गरेर देशलाई विदेशीको हातमा दिने प्रयास गरेको आरोप लगाउनु भयो ।
नेता एटम सीले सहभागी नेता कार्यकर्ताहरुलाई संसदवादी दलको विकृति र विसंगतिको जनतामा भण्डाफोर गर्न आग्रह गर्दै एकपटक जनताकाबीचमा वास्तविक माओवादीलाई स्थापित गर्न निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस