११ पुस, काठमाडौं । नेकपा (माओवादी)का महासचिव विप्लव सीले कपिलवस्तुको जनकम्युनमा सुशिला कार्की नेतृत्वको सरकारले प्रहरी पठाएर अपरेशन गरेकोमा चर्को विरोध गर्दै आक्रोश व्यक्त गर्नु भएको छ ।
शुक्रवार काठमाडौमा माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले जनकम्युनमा सुशिला कार्की नेतृत्वको सरकारले प्रहरी पठाएर अपरेशन गरेकोमा चर्को विरोध गर्दै आक्रोश व्यक्त गनु भएको हो ।
उहाँले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
उहाँले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको आरोप पनि लगाउनु भयो
महासचिव विप्लवले जनकम्युनमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिनु भयो ।
‘हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरुको अपरेशन भयो । हामी सुशीलालाई यहीबाट थ्रेट गर्न चाहन्छौं’ महासचिव विप्लवले भन्नु भयो, ‘राम्रोसँग सुन–तिमीले चुनाव गर्न चाहेको हौकि युद्ध गर्न चाहेका हौं ? यो कुराको फैसला चाहिन्छ ।’
उहाँले भन्नु भयो ‘राम्रोसँग सुन, गृहमन्त्री, सुशीला राम्रासँग सुन । हामी त शान्तिपूर्ण ढंगले प्रतिष्पर्धामा उत्रिएका छौं ।’
महासचिव विप्लवले सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ? भनि प्रधानमन्त्री कार्कीलाई प्रश्न गर्नु भयो ।
उहाँले सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनु भयो ।
‘शान्तिपूर्ण ढंगले यो राज्य हामीलाई दिनुस् भनेर नेपाली जनतालाई अपिल गर्दैछौं । र, चुनावमा जाने तयारी गर्दैछौं । हामी त दल दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौं नि’ महासचिव विप्लवले भन्नु भयो,‘यतापटीको हाम्रो इमान्दारिता,स्वाभिमानता छ, र साम्राज्यवादीहरुसँगको हाम्रो लडाई हो, दलालहरुसंगको लडाई हो ।’
उहाँले दलालसँगको हाम्रो लडाईलाई घुमाउरो तरिकाले सोचेर हिजोको रोल्पामा रोमियो अपरेशन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीले अर्को परिकल्पना गरेका छौं ? भनि प्रश्न गर्नु भयो ।
यसैविच नेकपा (माओवादी)ले आज साँझ काठमाडौ लगायत देशका विभिन्न ठाउँमा सरकारको अपरेशन विरुद्ध विरोध प्रदर्शन समेत गरेको छ । माओवादीले अमेरिकी कठपुती सरकारले नेपालमा चुनाव नभई युद्ध थोपर्न दमनको हर्कत गरिरहेको भन्दै देशभर विरोध प्रदर्शन गरेको हो । आज विहान प्रहरी जनकम्युन पुगेर अपरेशन गरिरहेको नेकपा माओवादीको भनाई छ ।
