१२ पुस, कालिकोट । नेपाल सरकारले रास्कोट नगरपालिकाको आरसीपी बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यसले नागरिकता प्राप्तिको काम निकै सजिलो हुने भएको छ । शुक्रवारको मन्त्रिपरिषद बैठकले रास्कोट सहित देशका विभिन्न ९ वटा ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । यो निर्णयसंगै अव तुरुन्त रास्कोटबाट सेवा सुरु हुनेछ ।
नागरिकता र सिफारिसका लागि कर्णाली पारिका रास्कोट नगरपालिका, पलाँता, पचालझरना, शान्नित्रिवेणी र नरहरीनाथ गाउँपालिका सर्वसाधारण नागरिकहरुले सदरमुकाम मान्म नै धाउनु पर्ने बाध्यता थियो ।
सरकारले रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने र तुरुन्त सेवा सुरु गर्न दिएको निर्देशनले यस क्षेत्रका नागरिकहरु निकै खुसी भएका छन ।
रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापनाको निर्णयले स्थानीय सरकारका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु तथा बुद्धिजीवीहरु समेत खुसी भएका छन ।
रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले फेसबुक मार्फत इलाका प्रशासन कार्यालय स्थापनामा खुसी व्यक्त गर्दै स्थापनामा सहयोग गर्ने विभिन्न निकायहरुलाई विशेष धन्यवाद समेत दिनु भएको छ ।
इलाका प्रशासन कार्यालय स्थापनासंगै अब यसक्षेत्रका जनताले नेपाली नागरिकता र प्रशासन कार्यालयबाट आवश्यक पर्ने सिफारिसहरु रास्कोटबाटै पाउने भएका छन ।
इलाका प्रशासन कार्यालय स्थापनाका लागि नगरसरकारले २०७९ माघ २६ गते प्रक्रिया अगाडि बढाई २७ गते माग गरेको थियो ।
२०७९ फागुन १४गते प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा सिफारिस दिएसंगै, अर्थ मन्त्रालयले २०८२ मंसिर ३ गते सहमति दिएपछि सरकारले पुस ११ गते इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।