गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन

२७ पुस, काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उहाँको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै भन्नुभयो ।

‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले भन्नुभयो, ‘उहाँको घरका सदस्यलाई सोध्दा हृदयघात भएको बताउनु भयो ।’

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत हुनुहुन्थ्यो । जसको डबिङ समेत बाँकी रहेको छ ।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उहाँले थुप्रै चर्चित गीत दिनुभएको छ ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुनुहुन्थ्यो । उहाँले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिनुभएको छ । उहाँ पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उहाँको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस