९ माघ, कालिकोट । जिल्लामा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा विवाद थप चर्किदै गएको छ । महेन्द्र शाहीका विरुद्ध जीवन बुढाले दिएको उम्मेदवारीको विवाद राजीनामको उत्कर्षसम्म पुगेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता, पूर्व समन्वय समितिका संयोजक तथा नेकपाका केन्द्रीय सल्लाहकार परिषद् सदस्य अनिपाल शाहीले यहि विवादका कारण राजीनाम समेत दिनु भएको छ ।
उहाँले शुक्रवार सामाजिक संजालमा जीवन बुढालाई सहयोग गरे वापत दबाव आएको भन्दै परिषद् सदस्यबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो ।
नेता अनिपालले पार्टी नेतृत्वमा यथार्थता र निश्पक्षता नभएको र निरंकुशता हाबी हुदै गएको भन्दै राजीनामा दिनु परेको जिकिर गर्नु भएको छ ।
उहाँले महेन्द्र शाहीको उम्मेदवारी विरुद्ध जीवन बुढाले दिएको स्वतन्त्र उम्मेदवारीमा समर्थन जनाउदै आउनु भएको थियो ।
महेन्द्रका विरुद्ध विद्रोह गरेर बुढाले उम्मेदवारी दिएपछि नेकपाभित्र तिव्र धुव्रीकरण भएको हो । नेता अनिपालले आफूले बुढालाई सहयोग गरेपछि किन सहयोग गरेको भनि दबाव आएपछि राजीनामा दिनु गरेको खुलासा गर्नु भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचण्डले महेन्द्रलाई टिकेट दिएपछि नेकपामा विवादको विउ रोपिएको हो । जिल्लाका बहुमत नेता कार्यकर्ताले बुढालाई टिकेट दिनुपर्ने सुझाव दिएपनि प्रचण्डले त्यो कुरा नसुनेको बुढापक्षका नेताहरुले बताइएका छन । विवाद मिलाउन नेकपा भित्र निकै कठिन भएको छ ।