२२ माघ, कालिकोट । नेकपा (माओवादी) का प्रवक्ता तथा प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सीले श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी र नेतालाई जिताउन अपिल गर्नु भएको छ ।
प्रत्यक्षतर्फका कालिकोटका उम्मेदवार प्रकाण्ड सीेले सहिद भेरी सहित कालिकोटका करिव पाँच सय सहिदहरुको सपना अझै पुरा नभएको भन्दै पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विहिवार खाँडाचक्र नगरपालिकाको वडा नम्वर २ थाम्कोट पुग्नु भएका प्रवक्ता प्रकाण्ड सीले थाम्कोटवासीको भव्य स्वागत तथा सम्मान कार्यक्रमपछि संक्षिप्त बोल्दै जनताको प्रतिनिधि जिताएर पठाए मात्र देशको स्वाधीनताको रक्षा, जिल्लाको विकास र सहिदहरुको सपना पुरा हुने बताउनु भएको हो ।
उहाँले सहिदहरुको सपना माओवादी पार्टी र आफूले जसरी पनि पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउनु भयो ।
सहिदहरुको प्रसंगमा बोल्दा गलो रोकिएर निकै भावुक हुनु भएका प्रवक्ता प्रकाण्डले आँसु झार्दै भन्नु भयो ‘भेरी लगायत ५०० जना सहिदको सपना अधुरा छन, सहिदहरुको सपना पुरा नहुदासम्म निरन्तर लडिरहने प्रतिबद्धता गर्छु, हामी १० बर्षको जनयुद्ध लड्यौ, २०६४ मा संविधान सभाको चुनाव लड्यौ, करिब २८ हजार मत ल्यायौ, तर संविधान जनताको बन्न दिएन, अहिले पनि क्रान्ति जारी छ, एकीकृत जनक्रान्तिको नयाँ मोर्चाको रुपमा हामी १८ बर्षपछि चुनावमा आएका छौ, यो चुनावी मोर्चामा पनि लडेर जित्नु पर्छ ।’

उहाँले काठमाडौमा पुगेर काठमाडौलाई माओवादी बनाउने भनेर गएपनि केही माओवादीहरु उल्टै अमेरिकी र भारतीय साम्राज्यवादीहरुको कव्जामा परेको टिप्पणी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले कालिकोटको विकासको लागि माओवादी र जनताको प्रतिनिधिहरुले जित्नुको विकल्प नभएको बताउनु भयो ।
राष्ट्र र जनताको स्वाधीनताको रक्षाका लागि पनि जनताको पार्टीले जित्नु पर्ने उहाँले ठोकुवा गर्नु भयो ।
कुनै लोभ,भ्रम र डर त्रासमा नपरेर जनतालाई मतदिन अपिल गर्नु भयो । ‘दलाल, भ्रष्ट, जाली जेलीहरुले हार्नुपर्छ, जनताले आफ्नो नेतालाई जिताउन ज्यान फालेर लाग्नु पर्छ, जीत जनताको हुन्छ, जनताको उम्मेदवार हराउने षड्यन्त्र अमेरिका र दिल्लीबाट हुन्छ, यो षड्यन्त्रमा पर्नु हुदैन, विकास जनताको प्रतिनिधि जितेपछिमात्र हुन्छ, दलाल भ्रष्टहरुले जीतेपछि कमिशनको खेलमा आफ्नो आवश्यकताले विकास हुन्छ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
उहाँले आफ्नो पालामा कर्णाली करिडोर, खुलाल पुल, काठमाडौ जुम्ला फ्लाईट, सुर्खेत विमान स्थलको विस्तार लगायतका कामहरु गरेको दाबी गर्दै भन्नु भयो ‘यो १८ बर्षमा के विकास गरे ? बाटो उस्तै छ, स्तरबृद्धि भएको छैन, कोटवाडा एरपोर्ट सुचारु गर्न सकेका छैनन,कमिशन र भ्रष्टाचार गरेका छन, यो बेला सडक, शिक्षा, सञ्चार, स्वास्थ्य,कृषि,प्राकृतिक साधनको सहि सदुपयोगका लागि जनताको प्रतिनिधिले जित्नु पर्छ ।’
प्रवक्ता प्रकाण्डले सामान्य जन्मदर्ता गर्दा पनि जनतालाई पञ्चायती शासन जस्तै सुल्क लिने गरेको चर्चा गर्दे स्थानीय तहदेखि जिल्लाको विकासका लागि पूर्नसंचना जरुरी भएको बताउनु भयो । यसअघि कालिकोटे जनताले हुल्म,सेरी र भाईरल पुलमा पनि भव्य स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा नेता प्रकाण्डले भ्रष्ट र दलालहरुको पछि नलाग्न र जनताको प्रतिनिधि पार्टी र नेता जिताउन आग्रह गर्नु भएको थियो ।
स्वागत गर्ने स्थानीय जनताले आफ्नै प्रतिनिधि पार्टी र नेतालाई गुलाफ चिन्हमा मतदान गरेर जिताउने प्रतिबद्धता जनाएका छन ।
