सहिदको रगतलाई पानीको खोला बनाउनेहरुलाई छुटदिन सकिदैनः प्रकाण्ड सी

२४ माघ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा प्रत्यक्षतर्फका उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सीले सहिदको रगतलाई पानीको खोला बनाउनेहरुलाई छुट दिन नसकिने बताउनु भएको छ ।

शनिवार चुनावी भेटघाटका क्रममा खाँडाचक्र नगरपालिका ४ को ताडीमा जनतासंग बोल्दै प्रवक्ता प्रकाण्डले सहिदको रगतलाई पानीको खोला बनाउनेहरुलाई छुट दिन नसकिने बताउनु भएको हो ।

उहाँले सहिदको रगतलाई नेताको कुर्सीमा साँट्ेर नेपाली जनतालाई धोका दिने तत्वहरु विरुद्ध चुनावी मोर्चा मात्र होईन नयाँ मोर्चाबाट पनि लड्ने दृढता व्यक्त गर्नु भयो ।

नेता प्रकाण्डले भन्नु भयो ‘मलाई पनि दलाल संसवादी बनाउने षड्यन्त्र धेरै भएका थिए, हामीले जनता र सहिदको रगतलाई सम्झेर जनतालाई धोका दिन सकेनौ, निरन्तर संघर्ष गरिरहयौ, त्यसमा धेरै समय खर्चियो, जनतामा आउन ढिलो भयो, क्षमा माग्छौ, हामीले कुनै कमिशन र भ्रष्टाचार गरेका छैनौ, संविधान सभाबाट जनताको संविधान बनाउन नदिए पछि संघर्षमा लाग्यौ, अहिले नवदलालहरु यहाँ पैदा भएका छन, भ्रष्टाचार र कमिशनले गनाएका छन ।’

उहाँले जनताको विकासका लागि जनताकै नेता र पार्टी चाहिने भएको भन्दै राष्ट्रघाती, दलाल र भ्रष्टहरुलाई नजिताउन अपिल गर्नु भयो ।

‘साम्राज्यवादीहरुले माओवादी पहिचान र जनयुद्धलाई मेटाउन चाहान्थे,आज प्रचण्ड वावुरामहरुले त्यस्तै गरे, एउटा माओवादी संसदवादी भएर सकियो, अर्को वास्तविक माओवादी हामी जीवित छौ । जनताको पार्टी माओवादी जीवित छ । हामीले हार्नु पर्ने कुनै कारण छैन, हामी जनताको तागतले जित्नेछौ’ प्रवक्ता प्रकाण्ड सीले भन्नु भयो ।

उहाँले अहिले नयाँ दलालहरु उदाएको बताउदै भन्नु भयो ‘दलाल भ्रष्टहरुलाई बहिष्कार गर्नु होस् , कालिकोटले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छ, हामीले हार्नु पर्ने कुनै कारण छैन, यदि हामीले हारे कर्णालीले हार्ने छ, कर्णालीले हारे देशले नै हार्नेछ ।’

उहाँले जनताको पार्टी र जनताको आफ्नै नेताले जितेपछि मात्र जनताको विकास हुने पनि ठोकुवा गर्नु भयो ।

उहाँले पैसा बाँडेर भोट माग्नेहरुलाई बहिष्कार गर्न चेतावनी दिर्दै भन्नु भयो ‘१०० रुपया दिने हरुले १ लाख असुल गर्छन, १००० दिने हरुले करोड असुल गर्छ, अनि कतिवेला उनीहरुले जनताको विकास गर्छन, यसले आफ्नो असुली धन्धा सुरु गर्छन ।’

प्रवक्ता प्रकाण्डले कालिकोटको जनताले जिताए पनि नजिताए पनि आफू उत्पीडत वर्ग, समुदाय र सिंगो कर्णालीको लागि विगतमा पनि स्थायी शिक्षकको जागिर छोडेर लडेको बताउदै आउने दिनमा पनि अन्तीमसम्म लड्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस