कालिकोटका जनताले बजेट माग्ने नेता होईन, दिने नेता जिताउनु पर्छः प्रकाण्ड सी

२६ माघ,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले कालिकोटका जनताले बजेट माग्ने नेता होईन दिने ठाउँमा पुग्ने नेता जिताउनु पर्ने बताउनु भएको छ ।
आईतवार खाँडाचक्र नगरपालिकाको सेरा,मटेला,तेस्रो वजार र दाँहामा भएको चुनावी प्रचार तथा जनभेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले कालिकोटका जनताले बजेट माग्ने नेता होईन दिने ठाउँमा पुग्ने नेता जिताउनु पर्ने बताउनु भएको हो । उहाँले दिने ठाउँमा पहुँच भएको नेता गएपछि मात्र कालिकोट र समग्र कर्णालीको विकास हुने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘कालिकोटबाट जितेर जाने नेताहरु बजेट माग्न सिंहदवार धाउने गर्छन, मन्त्री र प्रधानमन्त्रीलाई भेटन पनि महिनौसम्म कुर्छन, बजेट ल्याउन सक्दैनन्, त्यस्तो नेताहरुलाई जिताएर कालिकोटको विकास हुदैन,हाम्रो राष्ट्रिय राजनीतिमा सिधा पहँुच छ, कोही मन्त्री प्रधानमन्त्रीलाई भेटन महिनौ दिन कुर्नु पर्दैन, बजेट माग्नु पनि पर्दैन, हामी डाईरेक्ट दिनेठाउँमा पहुँचमा छौ, अनिमात्र कालिकोट सहित कर्णालीको विकास हुन्छ ।’

उहाँले कालिकोट सामान्य जिल्ला नभएको भन्दै राष्ट्रिय राजनीतिमा राजनीतिक पहुँच भएको जिल्ला भएको बताउनु भयो । उहाँले आफू २०६४ सालमा संविधान सभामा जितेर जाँदा जनताको संविधान बनाउन ठुलो संघर्ष गरेको बताउनु भयो । एउटा ९ महिनाको गर्भवती महिलाले बच्चा जन्माउने बेला महिलाको घाँटी रेटेर हत्या गरे जस्तै संंविधान सभाको हत्या गरिएको टिप्पणी गर्नु भयो ।
उहाँले धेरै समय जनताको संंविधान बनाउन,माओवादी पार्टी र जनयुद्धको उपलव्धीको रक्षा गर्न पार्टी भित्रै र वाहिर लामो समय संघर्ष गर्नु परेको बताउनु भयो ।
विगतमा हुने चुनाव भन्दा अहिलेको चुनाव धेरै फरक भएको भन्दै उहाँले जनताको माओवादी पार्टी र जनताको नेतालाई जिताउन अपिल गर्नु भयो ।
नेता प्रकाण्ड सीले कालिकोटे जनताले भ्रष्ट र कमिशनखोरहरुलाई बहिष्कार गर्नु पर्ने भन्दै सच्चा,राष्ट्रवादी र जनताको नेता जिताउनुपर्ने बताउनु भयो । नेता प्रकाण्डलाई जनताले मटेलामा वाजा गाजा सहित भव्य स्वागत गरेका थिए । यस्तै जनताले तेस्रो बजार,सेरा र दाँहामा पनि फुलमाला अविर लगाएर भव्य स्वागत गरेका थिए । जनताले एकपटक गुलाफ चिन्हमा मतदान गर्ने र प्रकाण्डलाई जिताउने पनि प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस