२७ माघ, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले जनताको पक्षमा संविधान नबन्ने देखेपछि संघर्षमा होमिएको बताउनु भएको छ् ।
२०६४ सालमा अत्यधिक बहुमतले जिताएर संविधान बनाउन कालिकोटका जनताले काठमाडौं पठाएले स्मरण गर्दै प्रकाण्डले देशी÷विदेशी शक्तिहरूले उत्पीडित वर्ग, समुदाय, उत्पीडित क्षेत्रका पक्षमा संविधान नबन्ने देखेपछि आफूहरु विद्रोहको अधिकारलाई प्रयोग गर्दै संघर्षमा होमिएको बताउनु भएको हो ।
कालिकोट जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका प्रकाण्डले चुनाव प्रचारका क्रममा खाँडाचक्र नगरपालिका वडा नम्बर ९ र १० का जनतासँग अन्तरक्रिया गर्दै संघर्षमा होमिदा जनतासँगको भेटघाट पातलिएको स्विकार्नु भएको थियो । माओवादी जनयुद्धका कारण गणतन्त्र आएको भएपनि माओवादी कमजोर हुँदा त्यो गणतन्त्र दलाल र साम्राज्यवादको कब्जामा गएको बताउनु भयो । नेपालको संविधान जनताको पक्षमा नबन्दा नेपाली जनताले दुःख पाएको दाबि गर्दै आफूहरु अहिले पनि संघर्षमै रहेकोे बताउनु भयो ।

“हामीले अहिलेको चुनावलाई संघर्षको मोर्चाका रूपमा प्रयोग गर्न भनेर तपाईंसँग आएका छौं । हामी नेपालको संविधानलाई देशको पक्षमा, युवाको पक्षमा, महिलाको पक्षमा, दलितको पक्षमा, जनजातिको पक्षमा, उत्पीडित वर्गको पक्षमा बनाउन चाहन्छौं । देशमा सामाज्यवादको हस्ताक्षप बढेको छ । राष्ट्रियता संकटमा परेकाले देश रहनेकी नरहने स्थितिमा पुगेको छ“, उहाँले भन्नु भयो, “त्यसका लागि हामीलाई तपाईंको तागत चाहिएको छ । त्यो तागत भनेको तपाईंको मत हो । यो मतलाई आफ्नो पक्षमा सदुपयोग गर्नुहोस् भन्ने हाम्रो अनुरोध छ ।“
आगामी चुनाव नियमित चुनाव जस्तो नभएको बताउँदै उहाँले यो चुनावमा मतदाताले विवेक नपुर्याए देश ठूलो खतरामा रहेको जिकिर गर्नु भयो । कालिकोटको जनताले राष्ट्रको स्वाधिनता, राजनीतिक अधिकार र राष्ट्रको रक्षाका लागि मतदान गर्नुपर्ने बताउँदै विदेशी शक्तिको षड्यन्त्रलाई परास्त गर्न कालिकोटको जनता सक्षम रहेको दाबी गर्नु भयो ।
चुनाव प्रचार प्रसार अभियानका क्रममा प्रवक्ता प्रकाण्डले एक्लाएक्लै र सामुहिक भेटघाट गर्दै आफूमाथि लागेका आरोपको खण्डन गर्दै प्रष्ट पारिसक्नु भएको छ ।
