३१ औं जनयुद्ध दिवस रास्कोटको बाँखरकोटमा पनि मनाईयो

१ फागुन, कालिकोट । नेकपा(माओवादी)ले ३१ औं जनयुद्ध दिवस रास्कोटको बाँखरकोटमा पनि मनाएको छ ।
शुक्रवार सहिद परिवार र स्थानीय जनताको सहभागितामा ३१ औं जनयुद्ध दिवस शुभकामना आदान प्रदान गर्दै मनाईएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी)का केन्द्रीय प्रतिनिधि समिति सदस्य भूकम्प,पत्रकार वसन्त विक,स्थानीय बुद्धिजीवी प्रेमलाल बरालले शुभकामना मन्तव्य दिदै जनयुद्धको उद्देश्य अझै पुरा नभएको र जनयुद्धको उद्देश्य पुरा गर्ने बाटोमा लाग्नुपर्ने बताएका छन ।
कार्यक्रममा पत्रकार विकले माओवादी र जनयुद्धको पहिचान मेटाएर प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी बनाएको बताउनु भयो ।
उहाँले जनयुद्धको लक्ष्य पुरा गर्न कालिकोटमा जनयुद्धको संस्थापक नेता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई गुलाफ चिन्हमा मतदान गरेर जिताउनुको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय प्रतिनिधि समिति सदस्य भूकम्पले भ्रष्ट र दलालहरुलाई मत दिएर जनयुद्धको अपमान नगर्न आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो ‘जनताको नेता प्रकाण्ड हुन, प्रकाण्ड नभएको भए कालिकोटमा माओवादी आन्दोलन हुने थिएन, आज प्रकाण्डकै कारण कालिकोट विश्वमै चिनिएको छ, त्यसैले पनि माओवादी र प्रकाण्डलाई जिताउनु होला ।’
सहिदको रगतलाई कुनैपनि हालतमा माओवादीले नभूल्ने बताउदै नेता भूकम्पले सहिदको सपना पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले प्रचण्डहरुले सहिदको सपना छोडेकाले त्यहाँबाट जनयुद्धका सहिदको सपना पुरा हुने ठोकुवा गर्नु भयो ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा नेकपा एमालेका स्थानीय नेता बरालले माओवादीको उद्देश्य पुरा गर्न प्रकाण्डलाई जिताउनु पर्ने बताउनु भयो ।
उहाँले राष्ट्रवादी नेता र कर्णालीकै नेता प्रकाण्ड भएको बताउनु भयो । कार्यक्रममा सहिद अखिलको भाउजु नानी विक, सहिद विजयको भाउजु सुना सुवेदीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी सवैले मिठाई खादै अविर आवरण गर्दै उत्साहका साथ शुभकामना आदान प्रदान गरेका थिए ।
२०५२ साल फागुन १ गते आजैको दिन नेपालमा तत्कालिन नेकपा(माओवादी)को नेतृत्वमा जनयुद्ध सुरु भएको थियो । कार्यक्रमको संचालन र अध्यक्षता नेकपा माओवादी रास्कोट वडा नम्वर ८का इन्चार्ज छालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस