२ चैत,कालिकोट । विधुत वितरण कार्यालय रास्कोटको गम्भीर त्रुटीले करेन्ट लागेर रास्कोटमा एकजना बृद्धको मृत्यु भएको छ ।
रास्कोट नगरपालिका वडा नम्वर ८ बाँखरकोट निवासी ६५ बर्षिय मन वरालको सोमबार दिउसो १२ बजे विधुतको पोलमा करेन्ट लागेर मृत्यु भएको हो ।
नेपाल विद्युत् प्राधिकरण अन्तरगत विधुत वितरण कार्यालय रास्कोटले विधुत लाईन तान्दा पोलमा करेन्ट प्रभाव हुने गरी तार जोडेकाले बाख्रा चराउन गएका वराललाई करेन्ट लागेको स्थानीयवासीले बताएका छन ।
गाउँ नजिकैको काँन्डिल भन्ने ठाउँमा गाडिएको विधुत पोलमा करेन्ट प्रभाव भईरहेको वराललाई जानकारी नहुदा अचानक छुने वित्तिकै करेन्ट लागेको थियो ।
विधुत कार्यालयले तार जोडदा अव्यवस्थित र असुरक्षित तरिकाले जोडेका कारण यस्तो घटना हुन पुगेको स्थानीयवासी नेत्र वरालले जानकारी दिनु भयो ।
उहाँका अनुसार विधुत पोलमा अचानक हात छुने वित्तिकै वराललाई करेन्टले समातेको थियो भने उहाँको शरीरको आधा भाग पोलमै जलेर क्षत–विक्षत भएको थियो ।
स्थानीयवासीहरुले पीडित परिवारलाई उचित राहतको व्यवस्था गरिनु पर्ने अडान राख्दै घटनाको मुचुल्का र शवको पोष्टमार्टम गर्न दिएका थिएनन् ।
दिनभर प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र पीडित परिवारबीच भएको छलफलपछि राहतका लागि पहल गर्ने सहमति भएको थियो ।
त्यसपछि करेन्ट लागेर मृत्यु भएका वरालको घटना स्थलको मुचुल्का गरेपछि र घटनास्थलमा डाक्टर बोलाएर पोष्टमार्टम गरेपछि स्थानीयले शव उठाएका छन ।
मृतको शवलाई ६ बजेतिर उठाएर आफ्नै घर लिएको र भोलि दाहासंस्कार गरिने बताईएको छ । मृतक बरालका ३ छोरा र २ छोरी रहेका छ्न ।
स्थानीयवासीहरुले गाउँमा भएका विधुतका पोलहरु सुरक्षित बनाएर लाईन तान्न र आउने दिनमा यस्तो घटना दोहोरिन नदिन विधुत कार्यालयलाई सचेत गराएका छन ।
