कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइनः एमाले महासचिव पोखरेल

१२ चैत्र, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगकै प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गर्नु भएको छ ।
उहाँले सामाजिक सन्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गर्नु भएको हो । ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,’ महासचिव पोखरेलले लेख्न भएको छ ‘सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’
उहाँले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको समेत उल्लेख गर्नु भएको छ । ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ– राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ,’ उहाँले भन्नु भएको छ ।
यस्तो अवस्थामा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्ने उहाँको धारणा छ ।
उहाँले लेख्नु भएको छ ‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’

प्रतिक्रिया दिनुहोस