कालिकोटमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

१६ चैत, कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिका–३ स्थित कुमाल गाउँमा श्रीमानले श्रीमतीको बन्चरो प्रहार गरेर हत्या गरेका छन् ।

सोमबार बिहान २६ वर्षीय मनपुरा अधिकारी बुढाको हत्या भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । हत्यामा संलग्न आरोपमा मनपुराका श्रीमान २९ वर्षीय काशिराम बुढालाई पक्राउ गरिएको कालिकोटका डीएसपी हिम बहादुर खत्रीले रातोपाटीलाई बताए ।

बञ्चरो प्रहार गरेर काशीरामले पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । डीएसपी खत्रीले भने, ‘बञ्चरोले टाउकोमा प्रहार गरेको देखिन्छ ।’

भारतमा बस्दै आएका काशिराम एक साताअघि कालिकोट फर्केका थिए । सोमबार पत्नीको हत्यापछि बिहान ३ बजेतिर उनी वडा अध्यक्षकहाँ पुगेका थिए । वडा अध्यक्षकहाँ गएर उनले भने, ‘३–४ जना मानिस आएर मेरो श्रीमतीलाई आक्रमण गरे, म भागेर आएँ ।’

वडा अध्यक्षले इलाका प्रहरी कार्यालयलाई घटनाबारे जानकारी गराएका थिए । मृतक मनपुराका ९ वर्षीया छोरी, ४ वर्षको छोरा र डेढ बर्षको छोरा छन् । आरोपीले आफूले हत्या गरेको स्वीकार गरेको डीएसपी खत्रीले जानकारी दिए ।घरायसी विवाद हुँदा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस