२७ चैत्र, कालिकोट । रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)को उदण्डता पराकाष्ठाको रुपमा देखिएको छ ।
नगरप्रमुख शाहीले आफूले जे भन्यो त्यही काम प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले नगर्दा उनीमाथि गालीगलौज गरि हातपात गर्ने प्रयास गरि लेखेटेर उदण्डताको पराकाष्ठा देखाएका हुन।
नियम विपरितका भूक्तानी र आसेपासे करार कर्मचारी राख्न नमान्दा प्रमुख प्रशासकीय अधिकृत शाहीलाई चैत्र १ गतेदेखि कार्यालयबाट लखेटिएको नगरपालिकाका एक कर्मचारीले बताएका छन ।
विहिवार मात्र रास्कोट नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भूमी व्यवस्था तथा सहकारी मन्त्रालयमा कार्यरत उपसचिव महेश अधिकारी सरुवा भएर आएका छन भने यसअघिका प्रमुख प्रशासकीय अधिकृत शाही सरुवा भएर गृहमन्त्रालयमा पुगेका छन ।
प्रमुख प्रशासकीय अधिकृत शाही झण्डै एकमहिनादेखि सरुवाका लागि काठमाडौ गएको नगरपालिकाका कर्मचारीले ज्वाला खवरलाई बताएका छन । ती कर्मचारीका अनुसार नगरप्रमुख शाहीले हाकीममाथि अहिलेसम्म तीन पटक गालीगलौज गरी हातपात गर्ने प्रयास गरेका छन ।
‘नगरप्रमुख शाहीले नियमविपरितका भुक्तानी गरी दिन हाकीममाथि पटक पटक चर्को दवाव दिने गरेका थिए । जसका कारण बीचमा दुई पटक अपमानीत हुने गरी गाली गलौज पनि गरेका थिए । पछिल्लो फागुन अन्तिमतिर आफ्नो अनुकुलका करार कर्मचारी नियुक्ति गरिदिन नगरप्रमुख शाहीले थप दवाव दिएपछि प्रमुख प्रशासकीय अधिकृत शाहीले अस्वीकार गरेका थिए’ ती कर्मचारीले भनेका छन ।
अहिले आर्थिक अधिकार वाहेक निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सृजना अधिकारीलाई दिएको छ । निमित्त प्रमुख अधिकारीले हाकीम के कति कारणले काठमाडौ जानु भएको हो ? आफूलाई जानकारी नभएको बताएकी छन ।
गत मंसिर देखि रास्कोट नगरपालिको प्रमुख प्रशासकीय अधिकृत भएर महेन्द्रजंग शाही रास्कोट पुगेका थिए । यसअघि रास्कोटमा निमुत्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जवानसिंह बमले लामो समय काम गरेका थिए । उनले नियम विपरित नगरप्रमुख शाहीले जे भन्यो त्यही काम गर्दा रास्कोटमा बेरुजु रकम पनि अत्यधिक देखिएको थियो । वेरुजू, अनियमिता र भ्रष्टाचारका समाचार पनि आउने गरेका थिए ।
लखेटिएका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई यसवारे बुझन खोज्दा आफू काठमाडौ रहेको र रास्कोटको विषयवारे नगरप्रमुखनै बढी जानकार भएको बताएका छन । उनले आफूमाथि भएको अन्यायकाबारे केही बोल्न नचाहेपनि अब रास्कोटका बारे नगरप्रमुखलाई नै बुझन आग्रह गरेका थिए ।
खास किन लखेटिए हाकीम ?
पहिलो कारण
नगरप्रमुख शाहीले नियमविपरितका आफ्नो पार्टी कार्यकतालाई दिएका योजनाका फाईलहरुको काम नभएपनि भुक्तानीको दवाव दिएका थिए । उनले आफ्नो आसेपासे ठेक्कादारहरुको भुक्तानी दिन दवाव दिएका थिए । काम नगरी पनि भुक्तानी दिन दवाव बढेपछि हाकीमले सुरु सुरुमा नयाँ भएको बेला काम गरेपनि पछि सो कार्य रोक्ने प्रयास गरेका थिए । जसले गर्दा नगरप्रमुख शाही र कार्यालय प्रमुख शाही बीच विवाद सृजना भयो । विवादका बीच नगरप्रमुख शाहीले हाकीम शाहीमाथि गाली गलौज र हातपात गर्ने प्रयास गरेका थिए ।
दोस्रो कारण
नगरप्रमुख शाहीले अन्तीम समयमा करारमा कर्मचारी नियुक्तिको दवाव दिएका थिए । उनले रास्कोट १ का नमराज न्यौपाने र अर्का रास्कोटकै जाड सार्कीलाई नगर अस्पतालमा करारमा कार्यालय सहयोगी नियुक्तिको दवाव दिएका थिए । हाकीम शाहीले श्रोत नभएको भन्दै अहिले गर्न नसकिने बताए । नगरप्रमुख शाहीको दवावमा केही दिन ती दुवै जना करार नियुक्ति गर्न खोजेका कर्मचारी न्यौपाने र सार्की नगरअस्पतालमा काम समेत गर्न पुगेका थिए । नगर अस्पतालका व्यवस्थापक कौशल न्यौपानेले नियुक्ति विना काम नगर्नु भनेर हाजिरी नगराई फिर्ता गराएका थिए । यो कुराले दुवै जनामा विवाद उग्र बन्यो । जसरी पनि आफू अनुकुल काम गराउने नगरप्रमुखको दाउ र जसरी पनि नियमविपरित काम नगर्ने हाकीमको अडानले हातपातसम्म पुर्यायो । अन्ततः नगर प्रमुख शाहीले प्रमुख प्रशासकीय अधिकृतमाथि असभ्य गाली गलौज र हातपातकाे प्रयास गरेका थिए ।
तेस्रो कारण
नगरप्रमुख शाहीले नगर प्रहरीको भान्सेको रुपमा आफ्नै नाम गरेका र नातेदार धर्मराज शाही भन्ने व्यक्तिलाई करारमा नियुक्त गर्न खोजेका थिए । नगरप्रहरीको संख्या धेरै भएको र आफै खाना पकाएर खान सक्ने भन्दै त्यो पनि हाकीमले गर्न अस्वीकार गरेका थिए । यो पनि विवादको उग्र रुप बन्यो । जसका कारण नगरप्रमुख शाहीले प्रमुख प्रशासकीय अधिकृत शाहीलाई रास्कोटबाट लखेटे र लखेटिनु पर्यो ।
यस्तै केही समय अघि नगर उपप्रमुख मनिराज बरालले वडा ८ मा रहेको विकल्प स्मृति स्वास्थ्य संस्थामा आफ्नो तरिकाले राखेको करार कर्माचारीलाई तलब नहाल्दिएकाे भन्दै गालीगलाैज र हातपात गर्ने प्रयास गरेको एक कर्मचारीले बताए ।