१२ लाख राहत दिने सहमतिपछि बावुरामको शव परिवारले बुझे

११ असार, कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाको आम्तडा स्थित सिस्नेमा कर्णाली करिडोरको माथितिर ग्रामीण सडक खनिरहेको डोजरले ढुङगा खसालेर मृत्यु भएका युवकको परिवारलाई १२ लाख राहत दिने सहमति पछि परिवारले शव बुझेका छन ।
विहिवार दिनभर शान्तिघाट प्रहरी चौकीमा मनबहादुर नेपाली, निर्देशन सीको अगुवाईमा पीडितपक्ष, ठेकेदार पक्ष, शान्नित्रिवेणी गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष र प्रहरीबीच भएको संयुक्त छलफलले पीडितपक्षलाई १२ लाख राहत दिने सहमति गरेपछि पीडित पक्षले मृतकको शव बुझेका हुन ।
मृतकका वुवा धनसुरे टमट्टाको खातामा विहिवार नै ५ लाख नगत ठेकेदार कम्पनीले हालेको र ७ लाख रुपैया साउन १० गतेसम्म दिने सहमति सहित कम्पनीको चेक पीडित पक्षको नाममा दिएको छलफलमा सहभागी निर्देशन सीले जानकारी दिनु भयो ।
बुधवार राति करिव ११ बजेतिर रास्कोट नगरपालिका वडानम्वर ८ बाँखरकोट घर भएका २२ बर्षिय युवक वावुराम टमट्टाको डोजरले खसालेको ढुङगा टाउकोमा लाग्दा मृत्यु भएको थियो ।
युवा वावुराम सहित ९ जना युवाहरु सेरिज्यूलामा छोरो भएको छैटेरातिको नाचगान हेर्न जाँदै गर्दा बाटो काटिरहेको डोजरले ढुङगा खसाल्दा टमट्टाको घटना स्थलमै ज्यान गएको प्रहरीले बताएको थियो ।
लुईयाटा रकु ग्रामीण सडक खण्डको ट्याक खोल्ने ठेक्का पाएको जगदम्भा अभियान इभान जेवि ठेकेदार कम्पनीको डोजर जनक विकले चलाएका थिए । पीडित परिवारले उचित राहत र डोजर चालकमाथि कार्वाहीको माग गरेका थिए । प्रहरीका अनुसार डोजर चालकमाथि कानुन वमोजिम कार्वाही हुनेछ । मृतक टमट्टाको शुक्रवार सामाजिक परम्परा अनुसार दाहासंस्कार गरिने परिवारीक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस