साउन १६, काठमाडौं । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्न आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
सर्लाहीमा विप्लव नेकपाका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले संयुक्त रुपमा संसद अवरुद्ध गर्दै आएका छन् ।
यसअघि सभामुख महराले गतिरोध अन्त्यका लागि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै आएका थिए । तर, सहमति जुट्न सकेको थिएन ।
महराका प्रेस सल्लाहकार मल्लका अनुसार प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलले पार नलागेपछि दलकै बैठक आवश्यक देखिएकाले सर्वदलीय बैठक बोलाईएको हो ।
विप्लव नेकपाका नेता पौडेल गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेहीको जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए । उनी प्रहरीसँगको मुठभेडमा मारिएको भनेर गृहमन्त्रीले संसदमा जवाफ दिएका थिए । तर शवको प्रकृति र स्थानीयबासीको भनाइ विपरित सरकारको जवाफ आएको भन्दै सत्तारुढ सांसदले समेत सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । विप्लव नेकपाले त बाटो ढुकेर पौडेलको हत्या गरिएको दाबी गर्दै आएको छ ।