जिल्लाका जल्दाबल्दा समस्याबारे समाजवादी कालिकोटले गरायो सरकारको ध्यानाकर्षण

१९ बैशाख, कालिकोट । नेकपा(एकीकृत समाजवादी) कालिकोटले जिल्लाका अत्यन्तै महत्त्वपूर्ण १७ वटा मागसहित नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीको देशव्यापी तीन महिने संघर्षको कार्यक्रम अन्तर्गत सो पार्टीले शुक्रवार कालिकोटमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष मागसहितको ध्यानाकर्षण पत्र पेश गरेको हो ।

जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेद्वारा हस्ताक्षरित माग पत्रमामा जिल्लावासीहरुलाई खाद्ध संस्थानको नुन र साल्ट ट्रेडिङको नुन पालिका स्तरमै उपलब्ध हुने व्यवस्थाका साथै पोष्ट मार्टमका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटाउन माग गरिएको छ ।

१७ बुँदे उक्त माग पत्रमा स्थानीय स्तरमै रोजगारी सृजनाको वातावरण सहित पढाइ र उपचारका लागि जिल्ला बाहिर जाने अवस्था अन्त्य गर्न र हाल सञ्चालित सडक खण्डमा वर्षेयाममा समेत सडक सञ्चालन हुने व्यवस्थासहित यात्रुहरुले राज्यबाट निर्धारित भाडाभन्दा बढी भाडा तिर्नुपर्ने असहजता हटाउन समेत माग गरिएको छ ।

सरकारी कार्यालयहरु लामो समयसम्म कार्यालय प्रमुख बिहीन भएर हुने समस्या अन्त्यका लागि जोड दिइएको माग पत्रमा रास्कोटमा सेवाकेन्द्र स्थापना , कोटवाडा एअरपोर्ट सञ्चालन , फुकोट र तिला हाइड्रोको काम सुचारु गर्दै पान्तडीमा पक्की पुल र भैंसीगौंडामा बेलीब्रिज सुरक्षित स्थानमा समयमै निर्माण गरिसक्न ध्यानाकर्षण गरिएको छ।

पार्टी केन्द्रीय कमिटी सदस्य बिजया बिष्ट , प्रदेश कमिटी सदस्य लालबहादुर मल्ल , प्रदेश सभा निर्वाचन क्षेत्र (१) का अध्यक्ष कम्मबहादुर शाही , उधोग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही , खाँडाचक्र – ८ का वडा अध्यक्ष नन्द बहादुर मल्ल , समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष अनन्त वराल र जिल्ला अध्यक्ष जीवनकुमार शाहीका साथै अनेमसंघ(समाजवादी)जिल्ला अध्यक्ष पुष्पा सिंह(शाही)लगायतका नेताहरु सहभागी भै पेश गरिएको माग पत्रमा बाल विवाह,बहुविवाहका साथै जातीय विभेद अन्त्यका लागिपनि आवाज उठाइएको छ ।

मागपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले सान्दर्भिक माग पेश गरेकोमा पार्टीलाई धन्यवाद दिदै जिल्ला स्तरबाट सम्बोधन गर्न सकिने माग कार्यान्वयनका लागि तत्परता देखाउदै मागपत्र प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा तत्काल पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले रास्कोटमा सेवाकेन्द्र स्थापनाका लागि जिल्ला स्तरबाट प्रक्रिया पूरा गरिसकिएको लगायत सडक सुधारका लागि र गुणस्तरीय काम गर्न का लागि बिहान मात्र दुइटै सडक डिभिजन प्रमुखहरुसँग कुरा गरेको र जिल्लाभर बिधुतीकरणका बाँकी कामलाई गतिदिन पहल भैरहेको वताउनुभएको थियो ।

विज्ञप्ति पूर्णपाठ

प्रतिक्रिया दिनुहोस