बिर्सने रोग अर्थात डिमेन्सिया के हाे ? यसलाई घटाउन के छ नयाँ निर्देशिकामा ?

जेठ १८, काठमाडौं । विश्व स्वास्थ्य संगठनले बिर्सने रोग डिमेन्सियाको खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ।

उक्त रोगलाई विश्व स्वास्थय संगठनले स्वास्थ्यसम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अथ्र्याउँदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ। उक्त संख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ।

मानिसको सम्झनसक्ने क्षमतामा असर पुर्‍याउनसक्ने उक्त रोगबाट बच्न स्वस्थ र सक्रिय जीवनशैलीको प्रवद्र्धन गर्नुपर्ने लगायतका विषयवस्तु निर्देशिकामा समेटिएको छ।

डिमेन्सियाको उपचार पत्ता लगाउन वर्षौं लाग्नसक्ने विज्ञहरूको भनाइ छ। डिमेन्सिया लाग्नुको प्रमुख कारणमध्ये एक वृद्धा अवस्था रहेको बताइएको छ। तर वृद्ध अवस्थामा हुने यो प्राकृतिक वा अपरिहार्य परिणाम भने होइन।

रोगबाट बच्न स्वस्थ आहार लाभदायी हुने भए पनि भिटामिन चक्की सेवन गर्नुले भने त्यसबाट बच्न कुनै किसिमको सहयोग नगर्ने सुझाइएको छ।

डिमेन्सियाबाट बच्न धूमपान र मद्यपानबाट टाढा रहनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै शारीरिक वजन, उच्च रक्तचाप र अत्यधिक कोलेस्टेरोल जस्ता विषयमा उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ।

निर्देशिकामा अरू के छन्?
– व्यायाम– वयस्कहरू खासगरी ज्येष्ठ नागरिकले हप्तामा कम्तीमा १५० मिनेट हिँड्ने वा अन्य शारीरिक व्यायाम गर्ने। दैनिक घरको काम गर्ने वा साइकल चलाउने।
– धूमपान त्याग्ने– धूमपान मस्तिष्क र शरीरको लागि खराब हुन्छ।
– खानपानमा ध्यान दिने– स्वस्थ र जैतुनको तेलयुक्त भूमध्यसागरीय शैलीको खानामा पर्याप्त सागसब्जी र फलफूल हुन्छ। त्यो स्वस्थकर हुन्छ।
– भिटामिनको भर नपर्ने– भिटामिनको चक्कीले फाइदा नै गर्छ भन्ने छैन।
– रक्सी नपिउने– धेरै रक्सी सेवन हानिकारक हुन्छ। थोरै रक्सीले फाइदा गर्छ भनिए पनि त्यो निश्चित हुँदैन।
– दिमागको व्यायाम– शब्दहरू बनाउने क्रसवर्डस् र केही कम्प्युटर खेलहरूले लाभ दिन सक्छन्।
– सामाजिक हुने– साथीसंगीसँग मिल्ने र हेलमेल हुने बानीले फाइदा पुर्याउँछ।
– उच्च रक्तचाप रोक्ने– उच्च रक्तचाप औषधि सेवन गरेर वा अन्य उपाय गरेर घटाउनुपर्छ।
– मधुमेहको उपचार गर्ने– मधुमेहलाई नियन्त्रणमा राखेमा डिमेन्सिया जटिल हुन पाउँदैन।
– उच्च कोलेस्टेरोलदेखि सावधान– उच्च कोलेस्टेरोलले डिमेन्सियाको जोखिम बढाउँछ।

प्रतिक्रिया दिनुहोस