माओबादी नेताको मागः ‘परिवारका सदस्यलाई निजी वा स्वकीय सचिव राख्ने निर्णय खारेज गर्नुहोस’

१७ साउन,काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले आफ्ना परिवारका सदस्यलाई निजी वा स्वकीय सचिव राख्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन ।

बुधबारबाट काठमाडौमा सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा धारण राख्ने केन्द्रीय सदस्यहरुले पार्टी परिवारवादमा केन्द्रीत भएको भन्दै नेताहरुले आफ्ना परिवारका सदस्यलाई मात्र निजी वा स्वकीय सचिव राख्ने निर्णय तत्काल खारेज गर्न माग गरेका हुन ।

बैठकमा आफ्नो धारणा राख्दै पार्टी केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका कार्यवाहक इन्चार्ज लक्ष्मण पन्तले सरकारमा रहेका नेताहरूलाई गोप्य तवरले ‘डिल’ गर्न सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा राख्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै खारेज गर्न माग गर्नु भयो ।

उहाँले भन्नु भयो ‘सत्तामा रहेका नेताहरूले आफूलाई ‘डिलिङ’मा सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा नियुक्त गरेका छन् । दाहालको निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्र होइन, यसै बैठकले नेताहरूका परिवारका सदस्यलाई निजी वा स्वकीय सचिवमा नराख्ने निर्णय गर्न म बैठक समक्ष माग गर्दछु ।’

उहाँले बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सामन्तवादी बनेको आरोप पनि लगाउनु भयो ।

कार्यबाहक इन्चार्ज पन्तले बालुवाटार नयाँ सामन्तवादको किल्ला बनेको भन्दै राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएपछि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार सामन्तवादको नयाँ किल्लामा परिणत भएको बताउनु भयो ।

उहाँले कर्मचारीमा नायब सुब्बाको सरुवामा पनि अध्यक्षका परिवारका सदस्यहरूको रुचि रहने गरेको आरोप समेत लगाउनु भयो ।

पन्तले आगामी चारदेखि छ महिनाभित्र पार्टी महाधिवेशन गरेर अध्यक्षसहित सिङ्गो केन्द्रीय समितिलाई पुनः निर्वाचित गराउन समेत माग गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस