मूल प्रवाहमा आउन विप्लवलाई प्रचण्डको आग्रह

जेठ २०, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लवलाई सत्तारुढ नेकपामै सामेल हुन आग्रह गरेका छन् ।

उनले विभिन्न समूहमा रहेका कम्युनिस्टलाई पनि नेकपामै समावेश भएर मूल प्रवाहमा अघि बढ्न आग्रह गरे । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रवेश गराउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि सत्तारुढ नेकपामै आउनुपर्ने बताए ।

उनले विप्लव समूहले लिएको बाटोले गन्तव्यमा नपुगिने भन्दै अन्तिम गन्तव्य नेकपा नै भएको दाबी गरे । ‘म अन्य साथीहरूलाई कुनै आग्रहविना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गरौँ,’ उनले भने, ‘इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौँ । देश र जनताका आकाक्षा पूरा गरौँ । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिऊँ । यो ऐतिहासिक आवश्यकता हो ।’

अध्यक्ष प्रचण्डले वैधानिक, शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिस्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूल प्रवाहमा फर्कनु सही समयको सही निर्णय भएको उल्लेख गरे ।

आफैँले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परेझैँ पदम राईहरू बाहिर रहँदा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ थियो । उनी पार्टीमा फर्केकामा खुसी लागेको अनुभव पनि उनले सुनाए । राई यसअघि पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत थिए । उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट निर्वाचित थिए । राईले विप्लव समूहमा लागेको र पछिल्ला समयमा देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस