१९असार, कालिकोट । नेपालमा परम्परादेखि पारिवारिक पुस्तान्तरण हुँदै आएको रैथाने ज्ञान सीपलाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्ने एक कार्यक्रमका सरोकारवालहरुले जोड दिएका छन ।
सामाजिक विकास कार्यालय कालिकोटले विहिबार मान्ममा आयोजना गरेको ‘रैथाने तथा परम्परागत सीप प्रवर्धन सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमक’मा बोल्ने बक्ताहरुले रैथाने ज्ञान सीपलाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन ।
वक्ताहरुले शिल्प कलालाई सिर्जना, शिक्षा र प्रविधि तथा उद्यमशीलतासँग जोडेर समृद्ध बनाउनुपर्ने आवश्यकता भएको बताएका छन ।
नेपालमा परम्परादेखि दलित समुदायले पेशाको रुपमा गर्दै आएका आरन, माटोको भाँडा बनाउने, तामाको भाँडा बनाउने, हतियार बनाउने, जुत्ता सिलाउने, कपडा सिलाउने, डाला, नाङ्ला, सुपा, भकारी, डोका, नाम्ला बुन्ने, काठका ठेकी, विभिन्न भाँडा र आकार निर्माण गर्ने, कलाकृतिहरू जोगिने जस्ता महत्वपूर्ण ज्ञान, सीप, प्रविधि स्थानीय समुदायले पुस्तौंपुस्ता संरक्षण र हस्तान्तरण गर्दै आएका छन ।
अहिले कतिपय ज्ञान सीप र कलाहरु लोपोन्मुख अवस्थामा रहेकाले यस्ता रैथाने शिल्पकलाको संरक्षण गर्न जरुरी भएको वक्ताहरुको जोड छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले रैथाने कलालाई अझ कसरी सम्मानित गर्न सकिन्छ ? भनेर सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले परम्परागत सीपलाई विज्ञानसँग जोडेर यसलाई आयआर्जनको स्रोत बनाउनु पर्ने बताउनु भयो । सीप र कलाका धनी दलित समुदायलाई ओझेलमा नपरोस् भन्नका लागि शिल्पकलाको शिक्षालाई विज्ञानसँग जोडेर दीगो विकासमा जोड्न जरुरी रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका उप –प्रमुख मिना रावत (विश्वकर्मा)ले ज्ञान र सीपको धनी दलित समुदायले बनाउने रैथाने परम्परागत सीपको राज्यले संरक्षण गर्न नसकेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
उहाँले बढ्दो आधुनिकताको प्रभावले पुराना ज्ञान सीपको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराईले रैथाने ज्ञानलाई प्रविधिसँग जोडेर लैजान सके त्यसले सकारात्मक परिणाम दिने प्रतिक्रिया दिनुभयो ।
उहाँले हाम्रा परम्परागत र रैथाने ज्ञानलाई पुस्तान्तरण गर्न जरुरी भएको र रैथाने ज्ञान र सीपलाई अध्यानको विषयमा बनाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले परम्परागत ज्ञान सीप, कला र इन्जिनियरिङलाई जोड्न जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरै सम्पदा छन् ती सबै इन्जिनियरिङ भएको र अब त्यसलाई शैक्षिक कार्यक्रमसँग जोडेर अझै पहिचानयोग्य बनाउनुपर्छ ।”
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चा नेपालका कर्णाली प्रदेश अध्यक्ष दिनेश चदाराले दलित समुदायले परापूर्वकालदेखि गर्दै आएको आरन पेसा, काठको ठेक्का बनाउने, माटोको भाडा बनाउने, तामाको भाँडा बनाउने जस्ता सीपहरु हराउदै भन्दै रैथाने ज्ञान, सीप, कलालाई प्रविधिसँग जोडेर आयआर्जको पाटो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी काम गर्छौँ, पेसामा आधुनिकता छैन, तर काम गरे बापत पैसा हैन बालीघरे प्रथा छ । सीपमा आधुनिकता र आर्यआर्जनको काममा अघि बढाइयो भने पुस्ता हस्तान्तरणको काम पनि अघि बढ्छ र कलाकारको पनि पहिचान हुन्छ ।”
कार्यक्रममा खाँडाचक्र नगरपालिका ५ का वडा अध्यक्ष देउराम विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे, उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष रतन शाही, गैरसरकारी संस्था महासंघका कालिकोट सचिव रमेश नेपाली, दलित सेवा संघ कालिकोटका अध्यक्ष बसन्त सुनारले परम्परागत पुराना पुस्ताको सीप, मेहेनत र परिश्रम नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा अस्तित्व नै सङ्कटमा परेको बताउनु भएको थियो ।
रैथाने तथा परम्परात सीप प्रवर्धन कार्यक्रममा जिल्लाभरबाट परम्परात पेसा गरिरहेका व्यवसायहरुलाई दुई दिनसम्म अभिमुखीकरण तालिम दिईने छ । सामाजिक विकास कार्यालयका प्रमुख रछाने लोहारको अध्यक्षता जारी कार्यकक्रमको सहजिकरण सामाजिक विकास कार्यालयका प्राविधिक गोविन्द्र विश्वकर्माले गरिरहनु भएको छ ।