बजेट बढाउन संघसँग प्रदेश सरकारको माग

चैत्र २१, काठमाडौं । प्रदेश सरकारहरुले संघीय सरकारसँग गुनासै गुनासो गरेका छन ।

बालुवाटारमा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सामूहिक छलफलमा मुख्यमन्त्रीहरुले गुनासो र असन्तुष्टि राखेका हुन् । संघीय सरकारले दिएको बजेट कम भएको, समन्वय हुन नसकेको, प्रदेशको अधिकार संघले आफैसँग राखेको, अन्तर प्रदेश समन्वय परिषद्को बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन नभएको मुख्यमन्त्रीहरुको गुनासो छ ।

मुख्यमन्त्रीहरुको खास चासो बजेटमा थियो । सातै प्रदेशका मुख्यमन्त्रीले बजेट न्युन भएको भन्दै त्यसलाई बढाउन आग्रह गरेका छन् । मुख्यमन्त्रीहरुले केन्द्र सरकारले बजेटलाई संघीय ढाँचा अनुरुप बनाउन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

संघीय सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेपनि प्रदेशमा बजेट सिलिङ अहिलेसम्म नपठाइएकोमा असन्तुष्टि राखेका थिए । बैठकपछि सञ्चारक्रमि संग कुराकानी गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबैभन्दा ठूलो चासो बजेटमा राखेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश समन्वय परिषद्को बैठकमा भएको सहमति कार्यान्वयन कमजोर भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको पनि जानकारी दिनुभयो । गत मंसिर २३ मा सिंहदरबारमा बसेको अन्तर प्रदेश समन्वय परिषद् बैठकमा २९ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक बजेट बढ्ने आश्वासन दिनु भएको छ । मुख्यमन्त्रीको गुनासो आफुले सकारात्मक रुपमा लिएको र छिट्टै स्थानीय, प्रदेश र संघबीच समन्वय गरेर अगाडि बढ्न राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने जानकारी दिनुभयो ।

बैशाख दोस्रो साता भित्रै बैठक बोलाउने आश्वासन प्रधानमन्त्री ओलीले दिनुभएको छ । बैठकमा प्रदेश २ का मुख्यमन्त्री राउतले बारा पर्सामा हुरीबाट आएको क्षतिले पु¥याएका विषयमा प्रधानमन्त्रीले जिज्ञासा राखेको र छिटोभन्दा छिटो पीडितहरुलाई घर बनाइदिने कुरा भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस