बैशाख २१,कालिकाेट । आज वैशाख कृष्णपक्षको औंसी अर्थात मातातीर्थ औंसी । आज नेपालमा आमाको मुख हेर्ने दिनको रुपमा आमाको सम्मान र आदर गर्दै मनाउने गरिन्छ ।
यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएको आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन रहेको छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
आजको दिनलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ ।
आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्ने गर्छन् । भेट्न जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झेका छन् । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पणगर्ने प्रचलन छ ।
पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालमा मातातीर्थ औँसी र यसको महत्व सम्बन्धमा विभिन्न किसिमले उल्लेख गरिएको पनि पाइन्छ ।
प्रतिक्रिया दिनुहोस