फोरम नेपाल र नयाँ शक्तिबीच सोमबार एकीकरण गर्ने सहमति [विज्ञप्तिसहित]

बैशाख २१, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित भएको छ ।

 

दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण गर्ने घोषणा गर्ने समझदारी भएको हो । शनिबार दुई पार्टीबीचको अन्तिम छलफलबाट एकीकरणको मिति टुंगो लगाइएको हो ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ भने सो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गाीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

एकीकरण गर्ने समझदारीपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले एक संयुक्त वक्तब्य जारी गर्दै विगत केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर संघीय समाजवादी पार्टी नेपाल बनाउने ऐतिहासिक समझदारी भएको उल्लेख गरेका छन् ।

पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

सरकारबारे मध्यमार्गी लाइन

फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अडि्कएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको छ ।

प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस