ने.क.पा.ले ल्यायो नयाँ नारा, प्रतिबन्धको प्रतिवाद गर्न निर्देशन

काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले बद्लिदो परिस्थितिमा नयाँ नाराहरु तय गरेको छ । सरकारले गत फागुन २८ गते पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उसले पनि राजनीतिक परिस्थिति नयाँ गतिमा पुगेको भन्दै नयाँ नाराहरु अगाडि सारेको हो । यो समाचार मिर्मिरेमामा छापिएको छ ।

चैतको तेस्रो हप्ता बसेको पार्टीको स्थायी समितिको बैठकले केही महत्वूर्ण निर्णय र नाराहरु तय गरेको जनाएका छन् । प्रतिबन्धपछि बसेको यो नै पार्टीको उच्च तहको पहिलो बैठक हो । मिर्मिरे अनलाइनलाई प्राप्त समाचारअनुसार बैठकले प्रतिबन्धको डटेर प्रतिरोध गर्न निर्देशित गर्दै निम्न नाराहरु तय गरिएको छ ।

१. ने.क.पा.माथिको प्रतिबन्ध खारेज गर, फासीवादी दमन गर ।
२. जनताको राजनैतिक अधिकारको रक्षा गरौं, फासीवादी दमनको प्रतिरोध गरौं ।
३. देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिहरु एकजुट होऔं, केपीसरकारको दमनको प्रतिरोध गरौं ।
४. सामाजिक दलाल सरकार – मुर्दावाद, ने.क.पा. जिन्दावाद ।
५. शान्ति, समृद्धि, स्वाधीनता र समानताकाा लागि वैज्ञानिक समाजवाद, दलाल ससंदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ।
६. झुठा मुद्दा खारेज गर, कमरेड सुदर्शनलगायत नेता कार्यकर्ताहरु रिहा गर, लगायत छन् ।

त्यस्तै सरकारले कपिववस्तु, कैलाली, चितवन, दाङ, परासीलगायत क्षेत्रमा दमन, धरपकड र ज्यादाति मच्चाएर नागरिकलाई आतंकित तुल्याएको भन्दै उक्त कदम तुरुन्त बन्द गर्न समेत बैठकले माग गरेको जनाइएको छ ।

उता सरकारले भने प्रतिबन्ध लगाएसँगै चैत महिनाभित्र ने.क.पा.लाई उसित भएको सम्पूर्ण ‘हतियार’ खोसेर पूर्णरुपले ठेगाना लगाउने उद्घोष गरेको थियो । तर त्यसको दोस्रो महिना बित्दै गर्दा प्रतिबन्ध निर्णय ‘बेमौसमी निर्णय’ भन्दै फुकुवा गर्न सरकारमाथि नागरिक समाज, बुद्धिजीवि, कलाकार, सुरक्षाका पूर्वअधिकारी तथा संसदका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दल र अन्तर्राष्ट्रिय स्तरबाटै चौतर्फी दबाब बढ्दै गएको छ ।

प्रतिबन्ध खारेजीको माग गर्दै ने.क.पा., नेकपा (क्रान्तिकारी माओवादी)लगायत पाँच पार्टीले आउँदो २७ गते संयुक्त रुपमा राजधानीमा विशाल प्रदर्शन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस