चैत २२, काठमाडौं । सरकारी चिकित्सकहरुले आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै आजदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिस्कार गरेका छन् ।
सरकारी चिकित्सकहरुले हावाहुरीबाट प्रभावित बारा र पर्साबाहेकका सबै जिल्लाको स्वास्थ्य सेवा बहिस्कार गरेका हुन् । सरकारले सरकारी चिकित्सकलाई निजामती कर्मचारीजस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् ।
सरकारी चिकित्सक संघले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुनेगरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ । माग पूरा नभएसम्म चिकित्सा सेवा बहिस्कार गर्ने संघले चेतावनी दिएको छ । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् ।
सरकारी चिकित्सकलाई अवैज्ञानिक र असमान समायोजन गरी स्थानीय तहमा कनिष्ठ कर्मचारी मातहत राख्ने व्यवस्था गरेको, अध्ययन तथा वृत्तिविकासमा अप्रत्यक्ष अवरोध सिर्जना गरिएको आरोप संघले लगाएको छ ।
सरकारी चिकित्सकले समायोजनपत्र नबुझ्ने समेत अडान लिएका छन् । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पनि सरकारी चिकित्सक संघको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस