२२ पुस, कालिकोट । कालिकोटमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ‘माओवाद’ सिद्धान्त र ‘माओवादी’ पार्टी पहिचान छोड्नु भएका पुष्पकमल दाहाल (प्रचण्ड) र ‘माओवाद’ नछोड्नु भएका खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
केही दिन अघि माओवादी सिद्धान्त परित्याग गरी पार्टीको नाम समेत नेपाली कम्युनिष्ट पार्टी राख्नु भएका संयोजक प्रचण्डलाई उहाँको पार्टीले कालिकोटबाट चुनाव लड्न एकल नाम सफारिस गरेको छ ।
यस्तै मंगलवार नेकपा (माओवादी) कालिकोटले पनि पार्टी प्रवक्ता तथा कर्णालीका प्रभावशाली नेता प्रकाण्डलाई जिल्लाबाट प्रत्यक्षतर्फको चुनाव लड्न एकल नाम सिफारिस गरेको छ ।
तत्कालिन सिंगो जनयुद्धका नायक प्रचण्ड र कर्णाली र कालिकोटको जनयुद्धका नायक तथा जन्मदाता प्रकाण्डलाई दुबै पार्टीले एउटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने अलग– अलग सिफारिस गरेपछि उहाँहरुबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
नेकपाले प्रचण्डलाई जनयुद्धको आधार क्षेत्र कालिकोटमा चुनाव लड्न सिफारिस गर्नु एकथरीले प्रकाण्डका विरुद्ध भएको बताउने गरेका छन ।
अर्कोथरीले प्रचण्ड र विप्लवबीचको चुनाबी सहकार्य हुन सक्ने सम्भावना रहेकाले पनि प्रकाण्डलाई सुरक्षित गर्नको लागि प्रचण्डको नाम सिफारिस गरिएको हुन सक्ने बताउनेहरु पनि छन ।
तर नेकपा माओवादी निकट श्रोतले भने चुनाबी सहकार्यबारे हालसम्म नेकपासंग छलफल नभएको र छलफलको सम्भावना हुनसक्ने पनि बताएका छन ।
नेपाली कम्युनिष्ट पार्टीभित्रकै केही नेताहरुले भने प्रकाण्डसंग प्रतिस्पर्धा गरी जित्ने उम्मेदवार कोही नभएकाले उहाँलाई हराउन पनि प्रचण्डलाई ल्याउन खोजीएको प्रतिक्रिया दिएका छन ।
प्रकाण्डले कालिकोट जनयुद्धको आधारभूमि भएको र जनतामा माओवादी विचार र प्रतिबद्धता जीवित भएकाले पनि आफू माओवादीको गुलाफ चुनाव चिन्हबाट विजयी हुने दाबी गर्नु भएको छ ।
उहाँले प्रचण्डहरु माओवादी पनि नभएको र माओवादी सिद्धान्त पनि छोडेर जनतालाई धोका दिएकाले माओवादी विचारका जनताले उहाँलाई मत नदिने विश्वास व्यक्त गर्नु भयो ।
प्रचण्डले माओवाद सिद्धान्त परित्याग गरी माओवादी पहिचान मेटाएकाले पनि उहाँलाई माओवादी जनताले जिल्लामा पत्याईहाल्ने सम्भावना कमै रहेको विश्लेषण समेत हुन थालेको छ ।
जनयुद्धका बेला कालिकोटबाट पहिलो हतियार उठाएर जनयुद्धमा लाग्ने प्रकाण्ड प्रथम नेता हुनुहुन्छ । उहाँको योगदानले पछिल्लो पुस्ता माओवादी आन्दोलनामा सहभागी भएको हो ।
कालिकोट र कर्णालीकै प्रभावशाली नेताको रुपमा चिनिने उहाँ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भारी मतले विजयी हुनु भएको थियो ।
त्यसपछि उहाँ महिला वालवालिका र पर्यटनमन्त्री समेत हुनु भएको थियो । उहाँलाई अहिले पनि कालिकोटको माओवादी आन्दोलनको अभिभावका रुपमा हेरिने गरिएको छ ।
कुनै बेला आफ्नै अध्यक्ष रहनु भएका प्रचण्डसंग अहिले चुनाव लड्नुपर्ने अवस्था भएको छ । सम्भवतः प्रचण्ड कुनै अर्को निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने र कालिकोट प्रकाण्डको लागि छोडदिने पनि हुन सक्ने सम्भावना अझै पनि छ ।
तर अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । किनकी त्यो तहसम्मको दुईदलका नेताहरुबीच छलफल हुन सकेको छैन ।
यदि सहमति सहकार्य नभएमा हेभीवेटका दुवै दलका दुबैनेताको प्रतिस्पर्धा हुनेछ । यसलाई कालिकोटका जनताले विवेकपूर्ण तरिकाले आफ्नो अमुल्य मतदानबाट निर्णय दिनेछन ।