चैत्र २४, सर्लाही । बारा-पर्सामा चलेको भिषण हावाहुरीले कयौंको ज्यान लागेको एक हप्ता पुग्न नपाउँदै शनिबार सर्लाहीमा पनि हावाहुरी चलेको छ।
शनिबार चलेको हावाहुरीमा परी एक जनाको ज्यान समेत गएको छ। प्रहरीका अनुसार हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको हो ।
हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर सहनीलाई थिचेको थियो र उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा शनिबार दिउँसो हावाहुरी चलेको बताइएको छ।
हावाहुरीका कारण स्थानीयहरुको घरको छाना उडाएको तथा केही घरहरुमा क्षति समेत पुगेको प्रहरीले बताएको छ।