२२ साउन,जाजरकोट । नेकपा वाट फुटेको धर्मेन्द्र वाँस्तोला (कञ्चन) समूहका एक विद्यार्थी संगठनका केन्द्रीय सदस्य दिपेन्द्र सिंह विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नु भएको छ । शनिवार जाजरकोटमा एक कार्यक्रमका वीच उहाँ नेकपामा प्रवेश गर्नु भएको हो ।
उहाँलाई नेकपा जाजरकोटका सेक्रेटरी पौरख मल्ल, भेरी नगर कमिटी इन्चार्ज निराजन शाही, यूवा संगठनका केन्द्रीय सदस्य गोविन्द चन्द लगायतका नेता कार्यकर्ताहरुले स्वागत गरेका छन ।
स्वागत कार्यक्रममा सिंहले नेकपा बहुमतको नाम लिएर क्रान्तिकारीको खोल ओढेर बसेकाहरुको आगामी यात्रा सुन्दर, सफल नदेखेपछि आफु पुरानै नेतृत्वतिर फर्किएको बताउनु भएको छ ।
केन्द्रीय सदस्य सिंहले भन्नु भयो ‘अवको यात्रा भनेको वैज्ञानिक समाजवाद स्थापनामा हाम्रो प्रमुख भूमिका रहनेछ, त्यहाँका साथिहरु साँच्चिकै क्रान्तिकारी गर्ने होइनन्, उनीहरुमा हरेक कुराको पारदर्शिता देखिदैन ।’
विद्यार्थी नेता सिंहलाई स्वागत गर्दै जाजरकोट सेक्रटरी मल्लले क्रान्तिकारी यूवाहरुको पार्टीलाई खाँचो रहेको र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन भ्रममा परेर कञ्चन तिर गएका नेता कार्यकर्ताहरु नेकपामा फर्किनु पर्ने वताउनु भयो ।
यस्तै सोही कार्यक्रममा नेपाल तरुण दल जिल्ला कार्य समिती सदस्य टेकजङ शाही समेत तरुण दल परित्याग गरेर नेकपामा प्रवेश गर्नु भएको छ । उहाँलाई पनि स्वागत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस