जेठ २५, काठमाडौँ । सर्वाेच्च अदालतले थुनामुक्त गर्न आदेश दिए पनि नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई दाङमा प्रहरीले पुन: पक्राउ गरेको छ ।
पक्राउ गरेर अनुसन्धानका लागि वडा प्रहरी कार्यालय घोराही दाङमा राखिएका नेताद्वयलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश गरेपछि शुक्रबार थुना मुक्त गरिएको थियो । तर पुनः शुक्रबार नै आदर्श र विश्व पक्राउ परेका हुन् ।
दाङ प्रहरीले केन्द्रीय सदस्य चुडामणि ओली आदर्श’लाई सुनसरी पठाउने तयारि गरेको बुझिएको छ । यता आदर्शका भाईसमेत रहेका लालबहादुर ओलीलाई भने गृह जिल्ला रोल्पा पठाउने तयारि गरेको स्रोतले बताएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश दिएको थियो ।
५२ वर्षीय चुडामणि र ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदालतमा शुक्रबार भएके बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।
साविकको ठेगाना जिनवाङ गाविस भई हाल गंगादेव गाउँपालिकाका स्थायी बासिन्दा आदर्श र विश्व दाजुभाई हुन् । दाजु नेकपाका केन्द्रीय सदस्य हुन् भने भाई लालबहादुर स्थानीय नेता हुन् ।
आदर्शसहित तीन नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो । तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो ।
सोही अभियोगका अभियुक्त नेकपाका केन्द्रीय सदस्य चद्रबहादुर खड्का ‘असल’लाई भने राज्यले लगाएको अभियोग र कसुरसम्बन्धी माग दाबीमा आधार र प्रमाण नदेखिएको भन्दै सर्बोच्चले यहि जेठ ७ गते रिहा गरेको थियो ।
रिहा लगतै असललाई पुन: गिरफ्तार गरेर दाङ प्रहरीले सुनसरी पठाएको थियो । खड्कालाई प्रहरीले हातहतियार खरखजना तथा संगठीत अपराध सम्बन्धी मुद्धा लगाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस