२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गर्नु भएको छ ।
नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गर्नु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको वृहत् जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले ओलीको धम्कीबाट खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह गर्नु भयो ।
प्रचण्डले चेतावनी दिँदै भन्नु भयो ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिनु भयो ।
आयोगसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेरिरहेको सर्वोच्च अदालततर्फ संकेत गर्दै प्रचण्डले आफूले बोल्दा (अदालतको) अपमान गरेको आरोप पनि लाग्ने गरेको भन्दै भन्नु भयो ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर ।’
आफ्नो पक्षले गरेको सभामा भएको उपस्थितिले पनि अदालतलाई सहज हुने प्रचण्डले दाबी गर्नु भयो । ‘संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न भन्ने म ठान्दछु’ उहाले भन्नु भयो ‘त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन ।’
प्रधानमन्त्री केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी सनकसँग डराएर फैसला आउँछ भन्ने विश्वास नरहेको, तर संविधानको बचाउने पक्षमा फैसला नआए ग्रीन रिभोलुसन (शान्तिपूर्ण क्रान्ति) हुने प्रचण्डको चेतावनी छ ।
अर्का, अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीले ‘पहिलो अध्यक्ष म नै हुँ, आधिकारिकताको विवादमा पस्न पाउँदैन’ भनेर संवैधानिक निकायलाई धम्क्याएको आरोप लगाउनु भयो ।
पार्टीमा कोही पहिलो अध्यक्ष नभएको भन्दै उहाले पार्टीको विधान, दस्तावेज, सकुर्लर र निर्णय हेर्न निर्वाचन आयोगलाई आग्रह गर्नु भयो । उहाले भन्नु भयो , ‘त्यसमा शंका छ भने ४४१ लाई बोलाएर एक–एक व्यक्तिको टाउको गने हुन्छ ।’
वरिष्ठ नेता झलनाथ खनालले पनि प्रचण्ड र माधव नेपालसँग मिल्दोजुल्दो भाषामा निर्वाचन आयोगलाई नेकपाको वैधानिकता विवादमा नअल्झन आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस