२७ वैसाख,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ भनी प्रष्ट पार्न आह्वान गर्नु भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिँदै उहाले प्रधानमन्त्री बाहेक सबैले प्रस्तावका विपक्षमा मतदान जाहेर गरेमा संविधान र लोकतन्त्रको रक्षा हुने धारणा राख्नु भयो ।
उहाँले भन्नु भयो ‘विघटन गर्ने व्यक्तिलाई सांसदसँग विश्वासको मत माग्ने अधिकार छ र प्रधानमन्त्रीजी ? फेरि पनि मध्यावधिमा सरकार जाने हो कि भन्ने जनताको संशय र प्रश्न छ ।’
विश्वासको मत र अधिवेशन बोलाउने तरिका पनि स्वाभाविक र तर्कसंगत नदेखिएको बताउँदै अध्यक्ष दाहालले विगतका गलत परम्परा र विसङ्गति दोहरिन दिन हुन्न भन्ने मान्यताका साथ संविधान बनाइए पनि गलत परम्परा पुनरावृत्ति भएको घटनाले आफूलाई दुखित तुल्याएको जनाउनु भयो ।
दलभित्र नेताबीच भएको लोकतान्त्रिक बहसलाई पार्टीको कचिङ्गल भन्न नमिल्ने बताउँदै उहाँले ‘देशमा संविधान, राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमा संकटको कारक म हो कि तपाईँ हो, तथ्यसंगत आधिकारिक प्रमाणित जवाफ तपाईँसँग छैन’ भन्नु भयो ।