नेता सुदर्सनलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

चैत २८, काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली “सुदर्शन”लाई रिहाई गर्न अस्वीकार गरेको छ ।

गत चैत ७ गते पक्राउ परेका सुदर्सनको रिहाइका लागि उनकी छोरी बिपना वलीले गत चैत १३ गते सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

बुधबार रिटमा सुनुवाईपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि प्रहरी अनुमती प्रदान भई हिरासतमा रहेको अवस्थामा वन्दीप्रत्यक्षीकरण रिटका माध्यमबाट छाड्न नमिल्ने आधारमा रिट खारेज गरेको छ ।

प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका-४ बरूणबेसीबाट चैत ९ गते बिहान पक्राउ गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहित आठ जना विप्लव नेकपाका नेता पक्राउ गरेको थियो ।

काठमाडौं आउने क्रममा प्रहरीले चेकजाँच गर्दा सुदर्सनसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि पक्राउ गरेको थियो ।

सुदर्शनमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्दोग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ । सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस