२८ फागुन,सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले प्रचण्ड नेतृत्वको पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट पास गरेको भन्दै आफुले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।
उहाँले सुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी माओवादी केन्द्र पनि कांग्रसे जस्तै राष्ट्रघाती र गद्दार भएको टिप्पणी गर्नु भयो ।
सांसद बिष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गर्न वाध्य भएको धारणा राख्नु भयो ।
उहाँले पार्टीको जिम्मेवारी सहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा दिएको घोषणा गर्नु भयो ।
उहाँले पार्टी भित्र रचनात्मक आलोचनामार्फत् पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दापनि सफल हुन नसकेकोले राष्ट्र र जनता माथि घात गर्ने पार्टीमा वस्नुको औचित्य नभएको टिप्पणी गर्नु भयो ।
उहाँले भन्नु भयो ‘हामीले विरोध पनि गरिराख्ने, भत्तापनि खाइराख्ने, गाडी पनि चढिराख्ने यस्तो गरिराख्नु हुँदैन । त्यसैले यो सबै कुराहरुबाट मैले राजीनामा दिनुपर्छ ।’
उहाँले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको खुलासा गर्नु भयो ।
उहाँले मूर्ति चोरीको मुद्दामा जेल सजाय भोगिसकेका मान्छेलाई मन्त्री वनाएकोमा असन्तुष्टि व्यक्त गर्नु भयो ।
माओवादी केन्द्रले एमसीसी पासमा सहयोग गरेपछि सो पार्टी भित्रका केन्द्रीय स्तरका नेता नारयणकाजी श्रेष्ठ, कृष्ण वहादुुर महरा,देव गुरुङ, लिलामणी पोख्र्ररेल, लगायतका नेताहरुले पनि तिव्र विरोध गरिरहेका छन ।
धेरै जसो इमान्दार राष्ट्रवादी नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरिसकेका छन ।
प्रतिक्रिया दिनुहोस